नेपाल

From विकिपीडिया
Jump to: navigation, search
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल
नेपाल
झण्डा राष्ट्रिय चिन्ह
राष्ट्रिय वाक्यजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
राष्ट्रगानसयौं थुङ्गा फूलका हामी

राजधानी
(र ठूलो शहर)
काठमाडौं
27°42′N 85°19′E / 27.7, 85.317
सरकारी भाषा नेपाली
क्षेत्रीय भाषाहरू नेपाल भाषा, लिम्बू, सुनुवार, राई, मैथिली, भोजपुरी, अवधी, थारू, गुरुङ, सेर्पा, तामाङ, मगर, किराँत
सरकारको प्रकार अन्तरिम संसदिय व्यवस्था
 -  राष्ट्रपति रामवरण यादव
 -  प्रधानमन्त्री सुशील कोइराला
व्यवस्थापिका संविधान सभा
ऐतिहासिक चरणहरू
 -  एकिकरण वि.सं. १८२५ असोज ११ 
 -  प्रजातन्त्र घोषणा वि.सं. २००७ फाल्गुण ७ 
 -  गणतन्त्र घोषणा वि.सं. २०६३ जेष्ठ १४ 
क्षेत्रफल
 -  जम्मा १४७,१८१ किमी² (९३औँ)
५६,८२६ वर्गमाइल
 -  पानी (%) २.८
जनसंख्या
 -   अनुमान २,६६,२०,००० (४०औं)
 -  जनगणना २०६८ २५,२८४,४६३[१] 
 -  जनघनत्व १८४/किमी² (६२औं)
५१८/वर्गमाइल
जिडिपी (पीपीपी) २०१२ अनुमान
 -  जम्मा $४१.२२ बिलियन [२] 
 -  प्रतिव्यक्ति आय $१,२००[२] 
जिडिपी (नाम मात्र) २०१२ अनुमान
 -  जम्मा $१९२.९२१ बिलियन[३] 
 -  प्रतिव्यक्ति आय $७४३[३] 
गिनी (२०१०) ३२.८ 
मानव विकास सूचकांक (२०१३) ०.४६३ (१५७औ)
मुद्रा रुपैयाँ (रू)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+०५:४५)
सडक प्रयोग बायाँ
इन्टरनेट टिएलडी .np
टेलिफोन कोड नं. +९७७

नेपाल, आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।

नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि. छ । उत्तर देखि दक्षिणको चौडाई भने एकनासको छैन । पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ । त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ । यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्युनतम चौडाई १४५ कि.मि. रहेको छ । यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि. रहेको छ । नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ । नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो । यस बाहेक बौद्ध, मुस्लिम, किरात आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन । एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ । यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका शृंखला अवस्थित छन् । संसारका सबैभन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो । नेपालको प्रमुख शहर एवं राजधानी काठमाडौं हो । काठमाडौं, ललितपुरभक्तपुर सहरहरूलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख शहरहरूमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढीमहेन्द्रनगर पर्दछन् । नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण त उपलब्ध छैन, तर एक प्रसिद्ध विश्वास अनुसार मरिची ॠषि पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको हो ।

निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको, अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्यो । तर यस पश्चात् पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो । यो व्यवस्थामा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखि ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो । माओवादीहरूले राजनैतिको मूलाधारबाट अल्लगिएर भूमिगत रूपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरूको विरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे, जसको कारण १३,००० भन्दा बढी मानिसहरूको ज्यान जान पुग्यो । यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२ मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले । सन् २००५ मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६ मा भंग गरिएको संसद पूनर्स्थापित भयो । मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो। अन्तरिम व्यवस्थापिका संसदले पहिले नै घोषणा गरिसकेको सङ्घीय लोकतान्त्रिक गणराज्य, संबिधानसभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भयो ।

भाषा

नेपाली नेपालको राष्ट्रिय भाषा हो । यो सरकारी कामकाजको भाषा पनि हो । यसबाहेक नेपालमा लिम्बू, सुनुवार, राई, मैथिली, भोजपुरी, नेवारी, अवधी, थारू, गुरुङ, सेर्पा, तामाङ, मगर, मारवाडी आदि भाषा पनि बोलिन्छन् । भाषाविज्ञानको आधारमा हेर्दा नेपाली भाषाको उत्पति भारोपेली भाषा परिवारका शतम् शाखाबाट विकसित आर्य-इरानी शाखाको आर्यली हाँगो संस्कृतबाट विकसित भएको हो । विभिन्न विद्वानहरूको संस्कृतको उत्तराधिकारी विभिन्न प्राकृतहरूमध्येमा शौरसेनी प्राकृत वा खस अपभ्रंशबाट कर्णालीको सिँजा प्रदेशमा एघारौं शताब्दीदेखि नेपाली भाषा जन्मेको हो भन्ने मत देखिन्छ ।

इतिहास

हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुरा काठमाडौं उपत्यकामा पाइएका प्राचीन औजारहरूबाट पुष्टि हुन्छ। सम्भवत: भोट-बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे।[४]

ईशापूर्व १५०० तिर इन्डो-आर्यन जातिहरू उपत्यका प्रवेश गरे। ईशापूर्वको १००० तिर स-साना राज्यहरू र राज्यसङ्गठनहरू बने। सिद्धार्थ गौतम (ईशापूर्व ५६३–४८३) त्यस्तै एक वंश, शाक्यवंशका राजकुमार थिए, जसले आफ्नो राजकाज त्यागी तपस्वीको जीवन अँगाले र उनी बुद्ध भनेर विश्व प्रसिद्ध भए।

ईशापूर्वको २५० सम्ममा, यो क्षेत्र उत्तर भारतको मौर्य साम्राज्यको प्रभावमा पर्‍यो र पछि चौंथो शताब्दिमा गुप्त साम्राज्यको अधीनस्थ राज्य हुनपुग्यो। यो क्षेत्रमा ५औं शताब्दिको उत्तरार्द्धमा आएर लिच्छवीहरूले राज्य गरे। ८औं शताब्दिको उत्तरार्धमा लिच्छवीवंश अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो, तथापि उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन। ११औं शताब्दिको उत्तरार्द्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग पर्‍यो। चालुक्यहरूको प्रभावमा त्यति बेला चलिआएको बुद्ध धर्मको साटो राजाहरूले हिन्दू धर्मको समर्थन गर्न थाले र नेपालमा हिन्दू धर्म तर्फको धार्मिक परिवर्तन हुनथाल्यो।

पाटनको हिन्दू मन्दिर, तीन प्राचीन राज्यमध्येको एकको राजधानी
१९२०तिरका नेपाली राजसंस्था

१३औं शताब्दिको पूर्वार्द्धमा संस्कृत शब्द मल्ल थर भएका नाइकेहरूको उदय हुनथाल्यो। सुरूमा उनीहरूको सत्ता उदयमान भयो, तर त्यसपछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ट पार्ने मात्र काम गरे। १४औं शताब्दिको उत्तरार्धमा देशका धेरैजसो भागहरू एकीकृत राज्यको अधीनमा आए। तर यो एकीकरण छोटो समयसम्म मात्र टिक्यो: १४८२मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशबण्डामा काठमाडौं उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णय पछि यो राज्य तीन भागमा टुक्रियो - काठमाडौं, पाटन, र भादगाउँ – जसको बीचमा शताब्दियौंसम्म खिचातानी र दुश्मनी रहिरहेको थियो।

१७६५ मा, गोरखाका राजा पृथ्वीनारायण शाहले थोरैमात्र हतियार र सहयोग जुटाई छिमेकी राज्यहरू, (खासगरी लम्जुङ्ग, कास्की र तनहूँ)को तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निम्ति अघि बढे। धेरै रक्तरञ्जित लडाईंहरू पश्चात्, उनी ३ वर्षपछि काठमाडौं उपत्यकालाई विशाल नेपाल भित्र एकीकरण गर्ने अभियानमा सफलता प्राप्त गरे।तथापि उनले तत्कालीन राजा जयप्रकाश मल्लले राज्य गरिरहेको काठमाडौं राज्यलाई जित्दाखेरि कुनै युद्ध गर्नु परेन। वास्तवमा, त्यतिबेला इन्द्रजात्रा पर्वमा काठमाडौं उपत्यकाका सबै जनताहरू जात्रा मनाइरहेका थिए जब पृथ्वी नारायण शाहले आफ्ना सेनाहरू लिएर खासै कुनै मेहनतबिना उपत्यकालाई कब्जा गरे आफै बसेर जात्रा चलाएर साँस्कृतिक सम्मानको अवधारणा प्रस्तुत गरे। त्यसैगरी नेपाल एकीकरणको सिलसिलामा सम्पूर्ण साना राज्यहरू जितेपछि पूर्वमा पल्लो किरात लिम्बूवान राज्य पुगे लिम्बूवान राज्यमा १७ पटक सम्म हमला गरी वि.स‌ं २२/०४/१८३१ मा लिम्बूवानको केन्द्रीय राजधानी विजयपुरमा लालमोहर सहित तम्रपत्रमा लेखी सन्धि भयो। यसले नयाँ नेपालको जन्मको आधारशिला तय गर्‍यो।

तिब्बतसँग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको विवाद र त्यस पश्चातको युद्धमा चीन तिब्बतको सहायताको लागि आएपछि नेपाल पछि हट्नुपर्‍यो। नेपालको सीमा नजीकका स-साना राज्यहरूलाई हडपेका कारण सुरू भएको ब्रिटिस इस्ट इण्डिया कम्पनी सँगको दुश्मनीका कारण रक्तरञ्जित एङ्गलो-नेपाल युद्ध (१८१४–१६) भयो, जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भएपनि महाकाली नदी पश्चिमको आफ्ना क्षेत्रहरू गुमाउनु पर्‍यो। ती क्षेत्रहरू हालको उत्तराखण्ड राज्य र हालको हिमाञ्चल प्रदेशका धेरै पञ्जाबी पहाडी राज्यजहरू पर्दछन। आफ्नो स्वाधीनताका लागि नेपालले इस्ट इण्डिया कम्पनिसँग सुगौली सन्धि गरेर तराईका केही भूभाग र एक तिहाइभन्दा बढी भूभाग सहित सिक्किम ,दार्जिलिनङ्ग गुमाउनु पर्‍यो। कांगडासम्म पुगेका नेपाली र सतलजदेखि टिस्टासम्मको विशाल नेपाल मेची र कालीमा सीमित हुन पुग्यो, तर पनि पछि १८६०मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणासँग खुसी भई अङ्ग्रेजले नेपाललाई राप्तीदेखि कालीसम्मको तराई फर्काइदिएका थिए।

राज परिवार बीचको गुटबन्दीका कारण युद्धपछि अस्थायित्व कायम भयो। सन् १८४६मा शासन गरिरहेकी रानीको सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षड्यन्त्रको खुलासा हुनाले कोतपर्व घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति बफादार भाइ-भारदारहरूबीच मार-काट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि राणा खानदान सुरू गरे र राणा शासन लागू गरे। राजालाई नाममात्रमा सीमित गरियो र प्रधानमन्त्री पदलाई शक्तिशाली र वंशाणुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७को सिपोई रिबेलियन (प्रथम भारतीय स्वतन्त्रता संग्राम), र पछि दुबै विश्व युद्धहरूमा सघाएका थिए। सन् १९२३मा संयुक्त अधिराज्य र नेपालबिच आधिकारिक रूपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार्‍यो।

राणा विरूद्ध संघर्ष

मुख्य लेख २००७ सालको क्रान्ति

१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनैतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे। जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री पद्मशम्शेरले नेपाल सरकारको वैधानिक कानून २००४ लागू गरे। त्यसैताका चीनले १९५०मा तिब्बत कब्जा गर्‍यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरूप राजा त्रिभूवनलाई भारतले समर्थन गरी १९५१मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो नेपाली काङ्ग्रेस पार्टीको सहभागिता थियो। नेपालको अन्तरिम शासन विधान २००७ निर्माण गरियो। राजा र सरकारबीच वर्षौंको शक्ति खिचातानी पश्चात् राजा महेन्द्रले २०१५ फागुन ७ गते नेपाल अधिराज्यको संविधान २०१५ जारी गरे। जस अनुसार संसद्को निर्वाचन भयो, नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्यायो र विश्वेश्वर प्रसाद कोइरालाको अध्यक्षतामा नेपाली कांग्रेसको एकमना सरकार बन्यो। १९५९मा राजा महेन्द्रले लोकतान्त्रिक अभ्यास अन्त्य गरी "निर्दलीय" पञ्चायत व्यवस्था लागू गरी राज्य गरे। नेपालको संविधान २०१९ जारी गरियो जसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्यायो। सन् १९८९को "जनआन्दोलन"ले राजतन्त्रलाई संवैधनिक सुधार गर्न र बहुदलीय संसद् बनाउन बाध्य तुल्यायो[५] फलतः नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भै बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो। मे १९९१मा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बने, नयाँ संविधान नेपाल अधिराज्यको संविधान २०४७को निर्माण भयो र संसदका लागि लोकतान्त्रिक चुनाव भयो। नेपाली कङ्ग्रेसले राष्ट्रको पहिलो लोकतान्त्रिक चुनावमा बहुमत ल्यायो र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने।

बहुदलीय संसदीय व्यवस्था नेपालमा लामो समयसम्म चल्न सकेन। राजनैतिक दलहरूको आपसी बेमेल तथा विसं २०५२मा सुरू भएको माओवादी जनयुद्धका कारण देश झन् अस्थिरता तर्फ बढ्यो। २०५८ सालमा नेपालका राष्ट्र प्रमुख रहेका राजा बीरेन्द्र लगायत उनको परिवारका सबै सदस्यहरूको नारायणहिटी दरवारमा हत्या भयो। त्यसपछि उनका माहिला भाइ ज्ञानेन्द्र नेपालका नयाँ राजाका रूपमा गद्दीमा बसे। सोही साल देशमा संकटकालीन अवस्था लागू गरियो। तर न त माओवादी जनयुद्ध रोकियो न त दलहरूबीच नै सहमति बन्न सक्यो। फलतः राजाले निर्वाचित संसद भङ्ग गरी सत्ता आफ्नो हातमा लिए। नेपाल अधिराज्यको संविधान २०४७मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए। विना स‌ंसदको देशमा विभिन्न व्यक्तिहरूको प्रधानमन्त्रीत्वमा राजाले मन्त्रीमण्डल फेर्दै गए र अन्ततः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरे। त्यसपछि देशभरका टेलिफोन तथा मोवाइलहरूका लाइन काटिए। रेडियो, टिभी, पत्रपत्रिका लगायतका सञ्चारमाध्यमहरूमा सेन्सरसिप लागू भयो। मौलिक हकमा समेत प्रतिबन्ध लाग्यो जनताले धेरै दुःख पाए।

राजा ज्ञानेन्द्रको यो कदमको देशभित्र र बाहिर गरी विश्वव्यापी रूपमा विरोध भयो। राजनैतिक दलहरू आन्दोलनमा उत्रिए। सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादी र आन्दोलनरत सात राजनैतिक पार्टीहरूबीच २०६२ फागुनमा भारतको मध्यस्थतामा नयाँदिल्लीमा वार्ता भई १२ बुँदे सहमति भयो। त्यसपछि माओवादीले पनि हतियार बिसाई शान्तिपूर्ण जनआन्दोलनमा सहभागी हुने भयो। सबै मिलेर आन्दोलन भयो र विघटित संसद पुनर्स्थापित भयो। आन्दोलनरत माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो। नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो र माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका संसदको निर्माण भयो। माओवादी समेत सम्मिलित स‌ंयुक्त सरकार बन्यो र नेपालको भावी संविधान निर्माण गर्नका लागि संविधानसभाको निर्वाचन गरायो।

विसं २०६५, जेठ १५ गते बसेको संविधान सभाको वैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्‍यो। त्यसपछि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको रूपमा डा. राम वरण यादवउपराष्ट्रपतिमा परमानन्द झा चुनिए। हाल नेपालका प्रधानमन्त्रीको हैसियतमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मी कार्यरत छन्। उनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९ का अध्यक्ष हुन् हुन्।

भूगोल

नेपालको भौगोलिक नक्सा
सुक्खा हिमाली पृष्ठभूमि

नेपाल मोटामोटी चारकुने आकारको छ । नेपालको लम्बाई करिब ८०० किलोमिटर (५०० माइल) र चौडाई २०० किलोमिटर (१२५ माइल) छ। नेपालको कुल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ वर्ग माइल)छ। नेपाल भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिन्छ: हिमाली क्षेत्र, पहाड, र तराई । यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यीनीहरूलाई नेपालका प्रमुख नदीहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन्। तराइ क्षेत्र र पाहाडी क्षेत्रका बिच दक्षिणमा चुरे तथा उत्तरमा माहाभारत शृंखलाले घेरिएका बिभिन्न सात वटा उपत्यकाहरूको समूह छ जसलाई भित्री मधेश पनि भनिन्छ। भारतसँग जोडिएको तराइ फाँट भारतीय-गंगा समथरको उत्तरी भाग हो। यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्: कोशी, गण्डकी (भारतमा गण्डक नदी), र कर्णाली नदी। यो भूभाग उष्म र सन्तृप्त छ । नेपाल र बंगलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल) को एउटा सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन् । यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ ।

पहाडी भूभागमा १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फिट) उचांईका पर्वत पर्दछन् । यो क्षेत्रमा महाभारत लेक र सिवालिक शृंखला (चुरिया) नामका दुई साना पहाडी शृंखला मुख्य शृंखला हुन्। पहाडी क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा सहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यका हरूको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ ।

हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमशृंखलाहरू पर्दछन्। यस क्षेत्रको उत्तरमा चीनको सीमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ । संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन् । कञ्चनजङ्घा, संसारको तेस्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ। नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वनविनास एक मुख्य हो जसले गर्दा भूक्षय र परिस्थितिकीय प्रणाली विनास हुन्छ। संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीन (तिब्बत)को सीमानामा अवस्थित छ । यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी पर्वतपृष्ठ (ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ । जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्छन् । अन्य चढिने हिमालमा अन्नपूर्ण (१,२,३ र ४) अन्नपूर्ण शृंखलामा पर्दछन् ।

नेपालमा पाँच मौसमी क्षेत्र छन् जुन उचाँईसँग केही मात्रामा मेल खान्छन्। उष्ण तथा उपोष्ण क्षेत्र १,२०० मिटर(३,९४० फि) भन्दा तल, शीतोष्ण क्षेत्र १,२०० देखि २,४०० मिटर (३,९००–७,८७५ फि), चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर (७,८७५–११,८०० फि), उप-आर्क्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर (११,८००–१४,४०० फि), र उत्तरी ध्रुवीय क्षेत्र ४,४०० मिटर(१४,४०० फिट) भन्दा माथि। नेपालमा छ ऋतुहरू छन्: ग्रीष्म, वर्षा, शरद्, शिशिर, हेमन्त र वसन्त। हिमालयले मध्य एसियाबाट बहने चीसो हावालाई नेपाल पस्नबाट रोकिदिन्छन् तथा मनसुनको वायुको उत्तरी परिधिको रूपमा पनि काम गर्दछन् ।

नेपालका नदीहरू

कोशी नदी, गण्डकी नदी, कर्णाली नदी, महाकाली नदी, मेची नदी, कन्काई, बाग्मती, राप्ती नदी, भेरी नदी, सेती नदी, जोगमाई, माई, पूवामाई, देउमाई,

प्राकृतिक सम्पदा

नेपाल प्राकृतिक सम्पदाको धनी देश हो। सानो मुलुक भए तापनि हिमालदेखि तराईसम्म पाइने विविधतापूर्ण हावापानीका कारण यहाँ विविधतापूर्ण प्राकृतिक वनस्पति, फूल, लहरा, जनावर, कीटपतंङ्ग, चराचुरूङ्गी तथा झरना, खोला, पहाड, कन्दरा आदि पाइन्छन् । को विविधता त झन् विश्वमा उत्कृष्ट मानिन्छ। यहाँ ठूलोमा सारसदेखि सानोमा फिस्टो सम्मका चराचुरुङ्गी पाइन्छ।

अर्थतन्त्र

नेपालमा कृषिले जनसङ्ख्याको ७६% जनसंख्या धानेको छ र कुल ग्राह्यस्थ उत्पादनको ३९% योगदान गरेको छ भने सेवाले ३९% र उद्योगले २१% गरेको छ । देशको उत्तरी दुई-तिहाई भागमा रहेका पहाडी र हिमाली भूभागले बाटोघाटो र अन्य संरचना निर्माण गर्न कठिन र महङ्गो बनाएको छ। सन् २००३ सम्ममा कालोपत्रे-सडकहरूको कुल लम्बाई ८,५०० किमि भन्दा केही बढी र दक्षिणमा रहेको रेल्वे-लाइनको कुल लम्बाई ५९ किमि मात्र छ। ४८ वटा धावनमार्ग र त्यसमध्ये १० वटामा कालोपत्र भएकाले हवाईमार्गको भने स्थिति राम्रो छ। यहाँ बढीमा प्रति १९ व्यक्तिका लागि १ टेलिफोन सुविधा उपल्ब्ध छ; तारजडित सेवा देशभर अपुग छ तर सहरहरू र जिल्ला सदरमुकामहरूमा बढी केन्द्रित छ; सेवामा जनताको पहुँच बढेको र सस्तो हुँदै गएकाले मोबाइल (वा तार-रहित) सेवाको स्थिति भने देशभर राम्रो छ। सन् २००५मा १,७५,००० इन्टरनेट जडानहरू (connections) थिए, तर "सङ्कटकाल" लागू भएपश्चात केही समय सेवा अवरूद्ध भएको थियो। केही अन्योल पछि नेपालको दोस्रो बृहत जनआन्दोलनले राजाको निरङ्कुश अधिकार समाप्त गरे पश्चात भने सवै इन्टरनेट सेवाहरू बिना रोकटोक सुचारू भएका छन्।[६]

नेपालको भूपरिवेष्ठित स्थिति[७] र प्राविधिक बिपन्नता अनि लामो द्वन्दले अर्थतन्त्रलाई पूर्णरूपमा विकाशशील हुन दिएको छैन। नेपालले भारत, जापान, संयुक्त अधिराज्य, अमेरिका, युरोपेली सङ्घ, चीन, स्वीजरल्याण्ड र स्क्यानडेभियन राष्ट्रहरूबाट वैदेशिक सहयोग पाँउछ। आर्थिक वर्ष २००५/०६मा सरकारको बजेट करिब १.१५३ अर्ब अमेरिकी डलर जतिको थियो, तर कुल खर्च १.७८९ अर्ब भएको थियो। १९९० दशक तिरको बढ्दो मुद्रा स्फीति दर घटेर २.९% पुगेको छ। वर्षौं देखि नेपाली मुद्रा रूपैयाँलाई भारतिय रूपैयासँग सटहीदर १.६मा स्थिर राखिएको छ। १९९० दशकमा खुकुलो परिएको मुद्रा बिनिमय दर निर्धारण नैतिका कारण बिदेशी मुद्राको कालोबजार लगभग समाप्त भएको छ। एक दिर्घकालिन आर्थिक सम्झौताले भारतसँगको राम्रो संबन्धलाई टेवा दिएको छ।

जनताहरू बीचको सम्पत्ति वितरण अन्य विकसित र विकासोन्मुख देशहरूको दाँजोमै छ: माथिल्ला १०% गृहस्थीसँग कूल राष्ट्रिय सम्पतिको ३९.१% माथि नियन्त्रण छ भने निम्नतम १०% सँग केबल २.६% मात्र।

हिमालयको पुछारमा पाखो खेति

नेपालको १ करोड जतिको कार्यबलमा दक्ष कामदारको निकै कमी छ। ८१% कार्यबललाई कृषिले, १६% सेवाले, र ३% उत्पादन/कला-आधारित उद्योगले रोजगारी प्रदान गर्दछ। कृषि उत्पादनहरू —— मुख्यतया भारत सीमा नजीकका तराईक्षेत्रमा खेती गरिने —— हुन्: चामल, मकै, गहूँ, उखु, दुध, र राँगापालन। उद्योगमा जुट, उखु, सुर्ति र अन्न लगायतका मुख्यत: कृषि प्रसोधनका कार्यहरू गरिन्छ। नेपालका शानदार भूदृश्य र गहन, अनौठो संस्कृतिका फलस्वरूप पर्यटनमा निक्कै संभाव्य छ, तर यस निर्यातमुलक उद्योगलाई बिगतका राजनैतिक घटनाहरूले निक्कै खस्काइदिएको छ। बेरोजगारी र अल्परोजगारीको अनुपात जनसङ्ख्याको कार्यबल-आयुको आधा पुग्छ। त्यसैले धेरै नेपालीहरू कामको खोजिमा भारत जान्छन, खाडी राष्ट्रहरू र मलेसिया कामका नया श्रोतहरू हुन। गरीबी चर्को छ।[८] भारतिय र ब्रिटिस सैनिकमा कार्यरत गोर्खाली सेनाहरू मार्फत नेपालले वार्षिक ५ करोड अमेरिकी डलर आम्दानी गर्दछ। गोर्खाली सेनालाई कौशल र बहादुरीका लागि आदर गरिन्छ। पर्सियन खाडी र मलेसिया, जहाँ करिब ७ लाख नेपाली श्रमिकहरू कार्यरत छन्, बाट पठाइने रकाम समेत कुल रेमिट्यान्सको करिब १ अर्ब डलरको हाराहारीमा छ।

सन २००५ का लागि नेपालको कुल ग्राह्यस्त उत्पादन (GDP) अनुमान ३९ अर्ब डलर भन्दा बढि (पर्चेजिङ पावर प्यरिटि समायोजित) छ, जसले यसलाई विश्वकै ८३औँ ठूलो अर्थतन्त्र बनाएको छ। प्रति-व्यक्ति आय करिब १,४०२ डलर छ, जसको स्थान १६३औँ छ। नेपालको निर्यात मुख्यत: गलैँचा, पोशाक, छालाका बस्तुहरू, जुट र अन्न गरि कूल ८२.२ करोड डलरको छ। आयात मुख्यत: सुन, मेसिनरि तथा कलपुर्जाहरू, पेट्रोलियम पदार्थ र कृषिमल गरि जम्मा २ अर्ब डलरको छ। प्रमुख निर्यात गरिने राष्ट्रहरू भारत (५३.७%), संयुक्त राज्य अमेरिका (१७.४%), र जर्मनी(७.१%) हुन। नेपालले आयात गर्ने प्रमुख राष्ट्रहरू हुन भारत (४७.५%), संयुक्त अरब इमिरेट्स (११.२%), चीन (१०.७%), साउदी अरेबिया (४.९%), र सिङ्गापुर (४%).

प्रशासनिक विभाजन

नेपालको प्रशासनिक विभाजन

नेपाल १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजित गरिएको छ । प्रत्येक जिल्लामा एउटा निश्चित प्रमुख जिल्ला अधिकारीद्वारा निर्देशित हुन्छ । प्रमुख जिल्ला अधिकारीको काम जिल्लामा विधान तथा शान्ति बहाल गर्नु र सरकारी मन्त्रालयहरूको काम सघाउनु हो । नेपालमा रहेका ५ विकास क्षेत्र र १४ अञ्चलहरू निम्न रहेका छन् :-

संस्कृति

नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो। केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा छन्। यहाँको भेषभूषा, भाषा तथा पकवानहरूमा धेरै समानताहरू पाइन्छन्। वैदिक सनातन एवं प्राकृतिक धर्ममा विश्वास गर्ने नेपालीहरूले मनाउने प्रमुख पर्व दसैं हो। यो पर्व शरद ऋतु अर्थात् आश्विन शुक्ल पक्षमा पर्छ जसलाई देवी पक्ष पनि भनिन्छ। उक्त पन्ध्र दिनभित्र आदिशक्ति देवी भगवतीलाई प्रसन्न पार्न अनेकौं धार्मिक अनुष्ठान एवं पूजा-आराधना गरिन्छ। हुन त यस्ता देवी पक्षहरू वर्षमा तीनवटा पर्छन। असोजको यो कालरात्रि पर्ने देवीपक्षबाहेक कार्तिकमा सुखरात्रि तथा चैत्रमा महारात्रि पनि पर्छ। यीमध्ये आश्विन शुक्लमा पर्ने कालरात्रिलाई विशेष रूपमा मनाउने चलन छ जसअन्तर्गत बडादसैं पर्छ। यस्ता विशेष अवसरमा गरिने पूजा वा साधनाले विशेष फल दिलाउने जनविश्वास रहिआएको छ। त्यसैले दसैंका नौ दिनसम्म भगवतीको विशेष पूजाआजा गरी दसौं दिन प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ। पूजा गरेर प्रसाद ग्रहण गर्ने क्रम पूणिर्मासम्म रहन्छ। पूणिर्माका दिन जमरा विसर्जन गरेपछि देवीको पूजा पनि समाप्त हुन्छ।

शक्तिस्वरूपा देवी भगवतीका अनेकौं स्वरूप छन। ती स्वरूपको वर्णन दुर्गा शप्तशती एवं देवीभागवतजस्ता ग्रन्थहरूमा भेटिन्छ। तीमध्ये प्रमुख रूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नाम गरेका देवीको पूजा-आराधना दसैंका नौ दिनसम्म क्रमैसँग हुन्छ। जसलाई नवदुर्गाका नामले चिनिन्छ। नवदुर्गाको पूजा गर्नाले सारा पाप नाश भै मनका चाहना पूरा हुने विश्वास गरिन्छ। यी देवीहरू समस्त प्राणीका शरीरमा माता, विद्या, लक्ष्मी, शक्ति, बुद्धि, माया, शान्ति, धृति, क्षमा, दया, निद्रा आदि स्वरूपमा विराजमान छन। दसैंका बेलामा आफूमा निहित ती शक्तिलाई प्रकट गरेर अभीष्ट पूरा गर्ने मनसायले प्रेरित भै मानिसहरूले अनेकौं साधना गर्छन।

दैवी शक्तिको आशीर्वाद पाएर विष्णुले मधुकैटभ नामक दैत्यको विनाश गरे। शक्तिकै सहायता पाएर देवताहरूले असुरमाथि विजय प्राप्त गरे। भृगु, अङ्गरिा, वशिष्ठ, विश्वामित्र, कात्यायन, जैमिनीप्रभृति ऋषिमुनिहरूले शक्तिको उपासनाबाटै सफलता प्राप्त गरे। राम, कृष्ण, युधिष्ठिर आदि पनि दुर्गा भवानीकै साधना र भक्ति गरेर महापुरुष भए। ब्रह्मा, विष्णु, महेशजस्ता त्रिदेव पनि महेश्वरीकै कृपा पाएर सृष्टि सञ्चालन गर्छन। त्यसैले देवीलाई सनातन वैदिक धर्ममा शक्तिको प्रतीक मानेर सम्मान गरिन्छ। उनको शक्तिबिना कुनै कार्य हुन सक्दैन। त्यसो भएको हुनाले मातृशक्तिका रूपमा पुजिने भगवतीको कृपा प्राप्त गर्न दसैंको अवसर पारेर उनलाई रिझाउने प्रयास गरिन्छ।

घटस्थापनाका दिनदेखि सुरु हुने दसैंको पहिलो दिन देवी स्थापना गरेर जमरा राख्ने कार्य हुन्छ । उक्त दिन व्यक्तिगत रूपमा घरैमा तथा सामुहिक रूपमा विभिन्न देवी मन्दिर एवं कोतघरहरूमा जमरा राखिन्छ। सम्पूर्ण विधि पुर्याएर जमरा राख्ने कार्यसँगै दुर्गा शप्तशतीको पाठ पनि गरिन्छ। बिहान नुहाइधुवाइ गरी शुद्ध भएर पाठपूजा गर्ने, बेलुका सधैं आरती गर्ने कार्य दसैंभरि नियमित गर्नुपर्छ। पाँचौं दिनसम्म यही क्रम जारी रहन्छ भने छैटौं दिन विल्व निमन्त्रणा अर्थात् बेलको पातले पूजा गरिन्छ। सातौं वा सप्तमीका दिन फूलपाती भित्र्याइन्छ। फूलपाती भित्र्याउन केरा, दारिम, धान, हलेदो, बेलपत्र, अशोक, जयन्ती, उखु र मानेजस्ता नौवटा लहरापात एवं जातजातका फूल चाहिन्छ। अष्टमीका दिन राति कालरात्रिको पूजा गरेर बलि दिने तथा होमादि गर्ने कार्य हुन्छ। त्यस दिन कसैकसैले रातभरि भजन-कीर्तन पनि गर्छन। नवमीका दिन देवीलाई बोका, कुखुरा, हाँस, परेवा, राँगा, पाठी आदि पशुबलि दिइन्छ। ब्राह्मणलाई जीवबलि शास्त्रले नै निषेध गरेको छ। त्यसैले ब्राह्मण तथा अन्य शाकाहारीले कुभिन्डो, नरिवल, उखु वा अन्य कुनै फल, पायस तथा मासको पीठोबाट पशुको आकृति बनाएर बलि दिन्छन। देवी सबैकी मातास्वरूप भएकीले बलि दिनैपर्छ भन्ने छैन। बलि दिने कार्यमा तान्त्रिक परम्पराको प्रभाव गाँसिएको छ। नेपालमा पहिले तन्त्रको ज्यादै प्रचलन भएकाले पनि हुनसक्छ, नेपाली शक्तिपीठहरूमा असंख्य पशुपन्छीको बलि चढाइन्छ। देवीलाई खुसी पार्न सात्विक भावले आफूभित्रको पाशविक प्रवृत्तिलाई बलि दिनु नै उपयुक्त हुन्छ भन्ने कुरा नबुझेर नै पशुपन्छीको घाँटी रेट्ने कार्य भैरहेको हो कि ? तसर्थ शक्ति र साधनाको पर्व दसैंलाई हिंसारहित बनाउने कार्यमा लाग्नु पनि शक्ति प्राप्त गर्ने राम्रो उपाय हुनसक्छ। यसैगरी नवमीकै दिन नवदुर्गा देवीको स्वरूप मानेर नौवटी कन्यालाई यथाशक्ति पूजा गरी भोजन, वस्त्र एवं दक्षिणा अर्पण गरिन्छ।

दशमी अर्थात् टीका लगाउने दिन आफूभन्दा ठूला मानिसका हातबाट टीका-जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ। त्रेता युगमा यसै दिन श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको प्रसङ्ग आउँछ। यसका लागि रामले नारदको उपदेशबाट नौ दिनसम्म दुर्गा देवीको आराधना गरेको र दसौं दिन रावणमाथि विजय पाएको कथा प्रचलित छ। यसरी रावणमाथि रामले विजय पाएको हुनाले यस दिनलाई विजयादशमी अर्थात् बडादसैं भनिएको हो।

महाकाली, महालक्ष्मी एवं महासरस्वतीको पूजा-आराधना गरेर जन्मजन्मान्तरका लागि शक्ति आर्जन गर्न सकिने सद्विश्वासकै कारण शक्ति र साधनाको पर्व दसैं मनाउन थालिएको हो। सबै शक्तिपीठमा प्रतिपदादेखि देवीको पूजा हुने भए पनि कुनै कुनैमा दशमीका दिन र त्यसपछि क्रमिक रूपमा कोजाग्रत पूणिर्माका दिनसम्म विसर्जन गर्ने परम्परा छ। अधिराज्यका कतिपय भागमा विजयादशमीको दिन मात्र टीका लगाउने चलन देखिए पनि कतै-कतै आफ्नो परम्पराअनुसार दशमीदेखि पूणिर्मासम्म टीका लगाउने चलन छ।

दसैं विशेष गरी नारी जातिको महिमा गाइने पर्व हो। 'यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता' अर्थात् मानव सभ्यताको सुरूदेखि नै जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् भन्दै आएको सनातन संस्कृतिले समग्र नारीजातिलाई मातृशक्तिका रूपमा आदर गर्दै आएको छ। महिषासुर, शुम्भ-निशुम्भ, रक्तबीज, चण्डमुण्डजस्ता असुरहरूलाई ठेगान लगाउन देवताहरू नारीशक्तिकै आश्रयमा गएको देखिन्छ। नारीबिनाको पुरुष अधूरो हुने भएकाले नारी शक्तिको उपासना गर्नुपर्छ भन्ने भावना जगाउन अहम् भूमिका निर्वाह गर्ने दसैंलाई आफ्नो शक्तिअनुसार मनाउनु उपयुक्त हुन्छ।

खाना

नेपालको सामान्य खाना भनेको दाल, भात, तरकारी, अचार हो। यस प्रकारको खाना एक चोटी बिहान र एक चोटी रातमा गरेर दिनको दुई पटक खाइन्छ। यी खानाहरूको बीचमा चिउरा तथा चियाको सेवन पनि गरिन्छ। समय-समयमा माछा, मासु, अण्डा आदिको सेवन पनि गरिन्छ। हिमाली भेगमा गहुँ, मकै , कोदो, आलु आदिको खाना हुन्छ भने तराईमा गहुँको रोटीको प्रचलन धेरै छ। कोदोको मादक पदार्थ तोङ्गबा, छ्याङ, रक्सी आदिको सेवन हिमाली भेगमा बढी हुन्छ। नेवार समुदाय आफ्नै विशेष किसिमको नेवारी परिकारहरू सेवन गर्दछन्।

शिक्षा

नेपालमा आधुनिक शिक्षाको सुरुवात राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत यात्रा पछि सन् १९८२ मा स्थापित दरबार हाइस्कूल (हालको रानीपोखरी किनारको भानु मा.बि)बाट भएको हो। यसभन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो। आधुनिक शिक्षाको सुरुवात १९८२ मा भएपनि यो आम नेपाली जनताका लागि भने सुलभ थिएन। तर देशका बिभिन्न भागमा केही विद्यालय दरवार हाइस्कूलको सुरुवात सँगै खुल्न सुरु भए। नेपालमा पहिलो उच्च शिक्षाको केन्द्र चाहिँ काठमाडौंमा रहेको त्रि-चन्द्र क्याम्पस हो। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले आफुसँगै राजा त्रिभुवनको नाम जोडी यस क्याम्पसको नाम राखेका थिए। यो क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा आर्जन धेरै सहज हुनपुगेको थियो। तर सन १९५९ सम्म पनि देशमा एउटा पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन। राजनैतिक परिवर्तन पछि राणा शासन मुक्त देशले अन्तत १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्‍यो। त्यसपछि महेन्द्र संस्कृतका साथै अन्य विश्वविद्यालयहरू पनि खुल्दै गए। हालै मात्र सरकारले ४ वटा अरू विश्वविद्यालय पनि खोल्ने घोषणा गरेको छ। नेपालको शिक्षाको सबैभन्दा मुख्य योजनाकार शिक्षा मन्त्रालय हो। त्यस बाहेक शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयहरू, जिल्ला शिक्षा कार्यालयहरू, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, उच्चमाध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्र, विभिन्न विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यलयहरू विकास विस्तार तथा नियन्त्रणका क्षेत्रमा कार्यरत छन्।

नेपालका विश्वविद्यालयहरू

  1. त्रिभुवन विश्वविद्यालय : त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठुलो राष्ट्रिय विश्वविद्यालय हो। यो विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौँमा छ। हाल यो विश्वविद्यालयमा १,५०,००० विद्यार्थी अध्यनरत छन्। कृषि तथा पशु विज्ञान, वनविज्ञान, इन्जिनियरिंग, विज्ञान तथा प्रविधि , चिकित्साशास्त्र , समाजविज्ञान , मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकीमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ। यस विश्वविद्यालयका ६० आंगिक तथा ४१६ सम्वन्धन प्राप्त क्याम्पसहरू रहेका छन् । यो विश्वविद्यालयले हाल पनि नेपालको उच्चशिक्षामा ७५ प्रतिशत भन्दा बढीको भार बोकीरहेको छ। साथै यो विश्वविद्यालय नेपालको थिंकट्यांकको रूपमा पनि चिनिन्छ। त्रिभुवन विश्वविद्यालयको वेव साइट
  2. महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत बनाइएको ): नेपालको दोस्रो पुरानो र काठमाडौँ उपत्यका बाहिर दाङ जिल्लामा स्थापित यो विश्वविद्यालय १९८६ मा स्थापना भएको हो। संस्कृत शिक्षाको उच्च तह आयुर्वेद, तथा आधुनिक शिक्षामा समेत पढाइ हुने यो विश्वविद्यालयको कार्यालय वसन्तपुरमा रहेको छ। नेपाल संस्कृत विश्वविद्यालय वेव साइट
  3. काठमाडौं विश्वविद्यालय: सन् १९९१ को डिसेम्बरमा स्थापित नेपालको पहिलो तथा एकमात्र निजी विश्वविद्यालय काभ्रे जिल्लाको धुलिखेलमा रहेको छ । व्यवस्थापन, वाणिज्य, विज्ञान तथा चिकित्साशास्त्रको यो विश्वविद्यालयमा पढाइ हुने गरेको छ। हाल काठमाडौँ विश्वविद्यालयमा २०७२ जति विद्यार्थी अध्यानरत छन। काठमाडौँ विश्वविद्यालय वेव साइट
  4. पूर्वाञ्चल विश्वविद्यालय: पूर्व नेपालको विराटनगर सहरमा स्थापित नेपालको पहिलो क्षेत्रीय विश्वविद्यालय हो। यो विश्वविद्यालय सन् १९९५ मा स्थापना भएको हो पूर्वाञ्चल विश्वविद्यालय वेव साइट
  5. पोखरा विश्वविद्यालय: पश्चिम नेपालको पोखरा सहरमा अवस्थित छ। यो विश्वविद्यालय सन् १९९६ मा स्थापना भएको हो। हाल यस विश्वविद्यालयमा ४९०० विधार्थी अध्यनरत छन् । यो विश्वविद्यालयमासँग आंगिक र सम्बन्धनप्राप्त गरी देशभरी २४ वटा क्याम्पस रहेका छन। पोखरा विश्वविद्यालय वेव साइट
  6. लुम्विनी विश्वविद्यालय: सन् २००५ मा स्थापित यो विश्वविद्यालयमा आउदो शैक्षिक सत्र देखि मात्र बुध्द दर्शनमा पढाइ सुरु हुनेछ यो विश्वविद्यालय भगवान बुध्दको जन्मस्थल लुम्विनीमा स्थापना भएको छ।
  7. नेपाल कृषि तथा वन विश्वविद्यालय (स्थापना हुन बाँकी): कृषीप्रधान नेपालमा कृषि तथा बातावरण जोगाउन वनको अझ महत्व दर्साउन त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशुविज्ञान अध्यान संस्थानको भरतपुरको रामपुर स्थित केन्द्रीय क्याम्पस, लम्जुडको सुन्दर बजार कृषि क्याम्पस, पक्लिहवा भैरहवाको पक्लिहवा कृषि क्याम्पसका साथै हेटौडामा रहेको त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्यान संस्थानको केन्द्रीय क्याम्पस तथा पोखरामा अवस्थित वनविज्ञान क्याम्पस लाई मिलाई कृषि तथा वन विश्वविद्यालय, भरतपुरमा निकट भविष्यमा स्थापना हुँदैछ।
  8. मध्यपश्चिमाञ्चल विश्वविद्यालय(स्थापना हुन बाँकी): सुर्खेतको वीरेन्द्रनगरमा उपकुलपतिको कर्यालय राखी मध्यपश्चिमाञ्चल विकासक्षेत्रभरि क्याम्पस विस्तार गरिने छ। यो क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएको हो।
  9. सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (स्थापना हुन बाँकी): डोटीको दिपायल वा कैलालीमामा उपकुलपतिको कर्यालय राखी सुदूरपश्चिमाञ्चल विकासक्षेत्र भरी क्याम्पस विस्तार गरिने छ। यो विश्वविद्यालय पनि क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएको हो।
  10. खुल्ला विश्वविद्यालय(स्थापना हुन बाँकी):सरकारले खुला विश्वविद्यालयको विश्वभरी सफल अवधारणालाई नेपालमा पनि कार्यान्वयन गर्न नेपालमा पनि खुल्ला विश्वविद्यालय खोल्ने घोषणा गरेको छ।

स्वास्थ्य

नेपालमा धेरै पहिले देखिनै आयुर्वेदीय प्राकृतिक चिकित्सा पद्धति उपयोगमा थियो। वैद्य र परम्परागत चिकित्सकहरू गाउँघर तथा सहरमा स्वास्थ्यसेवा पुर्याउँथे, उनीहरूको औषधिका श्रोतहरू नेपालको हिमालदेखि तराईसम्म पाइने जडिबुटीहरू नै हुन्थे। आधुनिक चिकित्सा पद्धतिको सुरुवात राणा प्रधानमन्त्री जङ्गवहादुर राणाको बेलायत यात्रा पछि दरवार भित्र सुरु भए तापनि नेपालमा आधुनिक चिकित्सा संस्थाको रूपमा राणा प्रधानमन्त्री वीर सम्शेरको पालमा काठामाण्डौमा सन १८८९मा स्थापित वीर अस्पताल नै हो। त्यसपछि चन्द्र सम्शेरको पालामा स्थापित त्रि-चन्द्र सैनिक अस्पताल हो। हाल नेपालका अस्पतालहरू सामान्यतया आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आधुनिक चिकित्सा गरी सरकारी सेवा विद्यमान छ। नेपालमा २०६२।६३मा अस्पतालको संख्या ८९, प्रथामिक स्वास्थ्य चौकी १८०, स्वास्थ्य चौकी ६९९, उपस्वास्थ्य चौकी ३१३१, आयुर्वेदिक औषधालय २९३, प्रति डाक्टर जनसंख्या २०,९९१ र प्रति अस्पताल सैया ३८८९ उपलव्ध छ ।[९]

सेना तथा सुरक्षा अंग

नेपालमा नेपाली सेना,नेपाली सैनिक विमान सेवा,नेपाल ससस्त्र प्रहरी बल,नेपाल प्रहरी,नेपाल ससस्त्र वनरक्षक तथा राष्ट्रिय अनुसन्धान विभाग नेपाल गरी सस्सत्र, तथा गुप्तचर सुरक्षा निकाय रहेका छन।

संवैधानिक अङगहरू

नेपालमा महालेखा परीक्षक, महान्‍यायाधिवक्‍ता, लोकसेवा आयोग , अख्‍तियार दुरूपयोग अनुसन्‍धान आयोग, निर्वाचन आयोग र राष्‍ट्रिय मानव अधिकार आयोग गरी ६ वटा संवैधानिक अङगहरू छन्। महालेखा परीक्षकले अदालत, ससद, अख्‍तियार दुरूपयोग अनुसन्‍धान आयोग, महालेखा परीक्षक, लोकसेवा आयोग,निर्वाचन आयोग, नेपाली सेना, नेपाली प्रहरीलगायत कार्यपालिका अन्‍तर्गत सबै सरकारी कार्यलयको लेखा परीक्षण गर्दछ। त्‍यस्‍तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य वा भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा कानून बमोजिम अनुसन्धान र तहकिकात गर्न वा गराउन सक्नेछ। उता लोकसेवा आयोगले निजामती सेवाको पदमा नियुक्तिको निमित्त उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्दछ भने नेपालको अन्‍तरिम संविधानको धारा १५७ बमोजिम हुने जनमत सङ्ग्रह तथा स्थानीय निकायको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण निर्वाचन आयोगले गर्दछ। राष्ट्रिय मानव अधिकार आयोगले भने मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्ने कार्य गर्दछ।

सन्दर्भ सामग्रीहरू

बाहिरी कडीहरू

Nepalको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

Definitions from Wiktionary
Textbooks from Wikibooks
Quotations from Wikiquote
Source texts from Wikisource
Images and media from Commons
News stories from Wikinews
Learning resources from Wikiversity