मोतीराम भट्ट
मोतीराम भट्ट कुन धाराका कवि हुन्?
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |
मोतीराम भट्ट | |
---|---|
जन्म | वि० सं० १९२३ भदौ २५ गते काठमाडौँ |
मृत्यु | वि० सं० १९५३ काठमाडौँ |
राष्ट्रियता | नेपाली |
पेशा | लेखन, पत्रकारिता |
मोतीराम भट्ट (१९२३ भदौ २५ - १९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए।
मोतीराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। उनले नेपाली भाषा साहित्यमा समालोचनाको सुरु गरे; भट्टले नै संवत् १९४८ मा कवि भानुभक्तको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]मोतीराम भट्टको जन्म १९२३ साल कुशेऔसीका दिन भदौ २५ गते, शनिबार काठमाडौँको भोसिको टोलमा भएको थियो। मोतीराम भट्टको वंशचाहिँ कुमाउगढबाट आएको थियो। मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रूपमा जन्मेका थिए। भट्ट दम्पतिका प्रथम पुत्र चाहि जन्मनासाथ दिवङ्त भएका थिए। मोतीराम भट्टलाई दीर्धजीवी राख्न उनका मातापिताले यिनका नाकको दाहिने पोरा छेडिदिएका थिए। नाक छेडेपछि यिनलाई उनका साथीहरूले केटी भनेर गिज्याउँथे भन्ने कुरा पं. नरदेव पाण्डे व्यक्त्याउँछन्।
मोतीराम भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए। ६ वर्ष भएपछि यी काशी पुगेका थिए। किनभने त्यसबेला यिनका पिता पं. दयाराम भट्ट र आमा रिपुमर्दिनीदेवी विशेष कामले काशी बसेका थिए। त्यसपछि मोतीराम भट्टको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्न थाल्यो। त्यहाँ यी फारसी विद्यालयमा भर्ना भए र त्यहीँ बस्ताबस्तै यिनले फारसी र उर्दू पढ्न थाले। काशीमा यिनको भेट भारतेन्दु हरिश्चन्द्रसँग भयो, भारतेन्दु मोतीराम झैँ पोख्त थिए। भारतेन्दुसँग गहकिलो सङगत गर्दै उनले नेपाली साहित्यको सेवा गरे र यी पढाइमा पनि समर्पित भइरहे। हुँदाहुँदै मोतीराम पछि फारसी, उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अङ्ग्रेजी भाषामा पनि दक्ष हुन थाले। बनारसमा यिनले हरिश्चन्द्र स्कूलमा अङ्ग्रेजी भाषा साहित्यको अध्ययन गरेका थिए। पढ्दापढ्दै आठ वर्षको उमेरमा बनारसमा नै यिनको व्रतबन्ध गरियो।
बनारस बस्दा उनले गजल गाउन र सितारवादन सिके। बनारसका प्रसिद्ध सितारवादक पन्नालालबाट यिनले सितार बजाउन र गीत गाउन सिकेका थिए। करिब आठ वर्ष बनारस बसेर यी १९३७ सालमा पुनः काठमाडौँ भित्रिए। त्यसै साल यिनले १५ वर्षको उमेरमा बिहे गरे। विवाहपछि यी केही दिन काठमाडौमा नै बसे। त्यसबेलासम्म उनी नेपाली भाषामा लेखिएका मीठामीठा गीत, कविता, भजन र गजल सुन्नबाट वञ्चित थिए। बनारसमा बस्ता यिनले चार सयजति शायरीहरू लेखिसकेका थिए तर त्यस बेलासम्म यिनले नेपाली गीत, कविता र गजल कोरेकै थिएनन्। त्यसै बखत यिनले नरनारीका युगलर दोहरी र जुहारी गीत सुन्न पाए। वास्तवमा त्यस बेला सुनेको रसिया गीतले यी मोहित पनि भए। त्यसपछि उनले यस्ता मीठा गीतहरूलाई हृदयमा रोप्न थाले, मस्तिष्कमा खेलाउन थाले र स्वरद्वारा प्रस्तुत गर्न थाले। अनि केही दिनपछि उनका छिमेकी खड्गदत्त पाण्डेको बिहेमा उनी पनि जन्ती गए। त्यहाँ पनि भट्टले रातभरि श्लोकमा जुहारी खेलेको सुने अनि नेपाली भाषामा पनि यति मीठा कविता लेखिँदा रहेछन् भन्ने कुराको उनीमा झन् सारो ज्ञान पलायो; ती सबै जुहारी सिलोकहरू भानुभक्तले लेखेका हुन् भन्ने चाल पाएपछि उनी एक्कासि भानुभक्त आचार्यका गुनगानमा लाग्न थाले। त्यसपछि उनी भानुभक्त आचार्यका कृतिहरू खोजीखोजी प्रकाशन गर्ने काममा जुटे। केही महिना काठमाडौमा बसेर आफ्नी पत्नी सहित उनी संवत् १९३८ को पुसमा काशी गए। काशी पुगेर यिनले 'भारतजीवन' भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण ल्याई यसको प्रकाशकीय र सम्पादकीय लेखेर भारतजीवन छापाखानासँग सम्बन्धित पनि बने। छापाखानाबाट यिनले नेपाली भाषाका पुस्तकहरू छापे। त्यसै बेला यिनले बनारसमा केही साथीहरूको सक्रियतामा एउटा मित्र मण्डलीको गठन गरे। त्यहीँ यिनले समस्यापूर्तिका कविता लगायत अन्य फुटकर कविता र गजल-लेखनको अभियान पनि चलाए। बनारसमा यस कार्य क्रममा उनलाई सघाउने व्यक्तिहरू पद्मविलास पन्त, काशीनाथ, रनाथ, तेजसिंह र तेजबहादुर राना थिए।
साहित्ययात्रा
[सम्पादन गर्नुहोस्]दरबार हाई स्कूलमा अध्ययन गर्दा नै मोतीराम भट्ट नामी भइसकेका थिए। यी पढाइमा पनि तेजिला थिए। यिनले दरबार हाई स्कूलको दशम कक्षामा अध्ययन गरिरहेको बेला अर्थात् १९४८ सालमा बेलायतबाट नेपाल-भ्रमणमा आएका लर्ड राबर्ट प्रधानमन्त्री चन्द्रशमशेरसँग दरबार हाइस्कूलको निरीक्षणमा गएका थिए। त्यस बेला स्कूलको प्रथम विद्यार्थी मोतीराम भट्ट भनेर चन्द्रशमशेरले परिचय गराउनासाथ ती पाहुनाले उभिरहेका मोतीरामलाई आफ्नै हातबाट मेच दिएर बस भने। त्यसपछि चन्द्रशमशेरले पनि बस भनेपछि मात्र मोतीराम भट्ट त्यस मेचमा बसेका थिए। त्यसै बेला ती बेलाईतीले पुरस्कारस्वरूप भट्टलाई पन्ध्रवटा ग्रन्थ उपहार दिएका थिए। त्यसताका साहित्यकारहरूलाई एउटै चौतारामा उभ्याएर सङ्गठन गर्न पनि उनी सिपालु थिए। प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, मुद्रणालयका संस्थापक, सङ्गठनकर्ता, पुस्तकालय स्थापक पनि मोतीराम भट्ट नै थिए। उनी कवि, गजलकार र गीतकार, नाटककार तथा नाटक निर्देशन पनि गर्थे।
काशीमा बसेकै बेला मोतीराम भट्टले भानुभक्त आचार्यको बालकाण्ड रामायण र पछि सम्पूर्ण रामायण पनि प्रकाशित गराए। त्यसै बेला उनले अन्य थुप्रै नेपाली भाषाका पुस्तकहरू प्रकाशित गराएका थिए। त्यसै ताका यिनले साथीभाइहरूलाई भेला पारी समस्यापूर्ति कविता लेख्ने जागरण ल्याएका थिए। बनारसमा नेपाली भाषा साहित्यका थुप्रै कृतिहरूको प्रकाशन गरी भट्ट संवत् १९४४ फागुनमा फेरि काठमाडौ आए। राजगुरु लोकराज पण्डितबाट झिकाइएर उनी काठमाडौँ आएका थिए। त्यसपछि मोतीराम भट्टले आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ सालमा काठमाडौँको ठहिटीमा मोतीकृष्ण कम्पनी खोलेका हुन्। त्यसै बेला उनले पुस्तकालय पनि खोलेका थिए।
त्यसैले उनले काठमाडौमा आफ्ना मामा नरदेव पाण्डे तथा लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, भोजराज पाण्डे आदिसँग मिलेर 'मित्रमण्डली' गठन गरे। त्यही मञ्चबाट श्रृङाररसमा समस्यापूर्ति कविताहरूको निर्माण, परिचालन र कार्या न्वयन हुन थाल्यो। त्यस बेला यिनीहरू सबैलाई मोतीराम भट्टले समस्यापूर्ति कविताको शीर्षक दिएका थिए - ल्यौ ल्यौ औँठी म दिन्छु राख तिमीले मेरो निशाना भनी। त्यही शीर्षकबाट मोतीरामलगायत यिनीहरूले औपचारिक रूपमा पहिलोपल्ट समस्यापूर्ति कविता रचना गरेका थिए। मोतीराम भट्टलाई यी समस्यापूर्ति कवितालाई सङ्ग्रह गरेर समस्याशतक भन्ने ग्रन्थनिर्माण गर्ने धोको थियो तर उनले निर्माण गर्न थालेको समस्याशतक भन्ने ग्रन्थका लागि पाँच जना कविहरू मिलेर लेख्ता जम्मा चौबीस श्लोक मात्र तयार भए सङ्ग्रह भने निस्कन सकेन। समस्यापूर्ति कविताहरूको अभ्यासमा भट्टलाई महत्त्वपूर्ण रूपमा सघाउने अन्य स्रष्टाहरू- राजीवलोचन जोशी, डोलेश्वर, कालीप्रसाद, देवराज थिए। यसै क्रममा यिनले दरबार हाई स्कूलमा अध्ययन गरी १९४८ सालमा कलकत्ताबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे।
सेवा, पेसा र संलग्नता
[सम्पादन गर्नुहोस्]- १. मोतीमण्डलीको स्थापना(१९३७)
- २. समस्यापूर्तिका आरम्भकर्ता(१९३७)
- ३. भारत जीवन प्रेसका संस्थापक(१९४४)
- ४. मोतिकृष्ण धीरेन्द्र कम्पनीका संस्थापक(१९५०)
- ५. पाशुपत छापाखानाका संस्थापक(१९५०)
सम्मान/पुरुस्कार
[सम्पादन गर्नुहोस्]- १. युवाकवि
- २. भारतेन्दु हरिश्चन्द्रबाट नगद पुरुस्कार
अन्तिम दिनहरू
[सम्पादन गर्नुहोस्]१९५० सालमा यी कलकत्तामा एए.आईए परीक्षामा सम्मिलित भए। त्यस परीक्षामा उनी अनुत्तीर्ण भए। यसपछि केही खिन्न भावना बोकेर उनी १९५२ सालमा पुनः कलकत्ता गए। त्यसबखत उनी त्यहीँ थला परे। केही समयपछि उनी अशक्त शरीर लिएर काठमाडौ आए। सात महिना ओछयानमा थला परेर कुशे औसीमा एकतीस वर्ष लागेकै दिन उनी १९५३ सालमा काठमाडौ पशुपति आर्यघाटमा स्वर्गीय भए।
पं. दयाराम भट्ट र रिपुमर्दि नीदेवीका सन्तानका रूपमा मोतीराम र उनकी बहिनी मात्र जीवित थिए। आफ्नो छोरो मोतीराम आर्यघाटमा मरणासन्न अवस्थामा पुगेको क्षणले रिपुमर्दिनी भट्टलाई त्यस घडी अत्यन्तै विहवल बनाएको थियो। उनी त्यसबेला सुकसुकाउँदै आफ्नी विधवा छोरीका साथमा आफ्नो छोराको अन्तिम जीवन हेरेर बसिरहेकी थिइन्। अनि त्यसै बेला मोतीराम भट्टले आफ्नी आमा र बहिनीसमक्ष भनेको कुरा पं.नरदेव पाण्डेले लेखेका छन्- अब मेरो बाह्र घण्टादेखि बर्ता यस कलेवरमा वास छैन। हजुरले पैदा गरीबक्सिएको यस शरीरबाट केही पुरुषार्थ गरी हजूरलाई देखाउँला भन्ने इच्छा थियो, सो मनको लड्डु मनैमा मात्र रह्यो। मेरा सन्तान भएनन् भन्ने हजूरलाई ठूलो अपशोच थियो। यसमा पनि गजेन्द्रमोक्ष, प्रह्लादभक्ति’ आदि मदेखि पैदा भएका जति ग्रन्थ छन्, तिनै मेरा अमर सन्तान हुन् भनी सम्झिबक्सेला।
मोतीराम भट्ट स्वर्गीय हुँदा उनका बुबा दयाराम भट्ट बनारसमा नै थिए। त्यस बेला रिपुमर्दिनी भट्टका मनमा अब आफ्नो भट्टकुलमा कसैको पनि पुत्ररसन्तान नहुनाले वंशोच्छेद नै हुन लाग्यो भन्ने भावनाको जागरण भयो। परिणामस्वरूप उनले नै आफ्ना पति दयाराम भट्टलाई आफ्नो पुत्र गुमेको २ वर्षपछि अर्थात् संवत् १९५५ मा काशीबाट काठमाडौँ झिकाइन्। त्यसै वर्ष ५५ वर्षीय रिपुमर्दिनीले आफै बन्दोबस्त गरी ५७ वर्षीय दयाराम भट्टको विवाह गरिदिइन्। भरखरकी कल्कलाउँदी कन्या दयाकुमारीसँग दयाराम भट्टको बिहे भएपछि भट्ट छोरा पाउने सपनामा नै केन्द्रित हुन थाले। बिहे गरेपछि दयाराम भट्ट आफ्नी कान्छी श्रीमतीसहित काशी नै पुगे। यी दम्पतिले संवत् १९५९ को मार्ग कृष्ण सप्तमीमा छोरा जन्माए, जसको नाउँ राखियो- रामेश्वर भट्ट। छोरो जन्मेको ६ महिनापछि दयाराम भट्ट र्स्वर्ग गए। दयाकुमारी भट्ट र रामेश्वर भट्ट रिपुमर्द नीको सुयोग्य, ममतामय र करुणामय संरक्षणमा रहे। केही समयपछि दयाकुमारी भट्टको पनि मृत्यु भयो, त्यसपछि रिपुमर्दिनी भट्टका साथमा एउटी छोरी र एउटा छोरा मात्र रहे।
मोतीराम भट्ट विशेषतः श्रृङारवादी साहित्यकार थिए। उनी जोसँग पनि भुतुक्कै हुन्थे। अति मिलनसार भएकाले उनीसँग पनि धेरैले घनिष्टता जोडेका थिए । यिनमा केटीहरूसँगको घनिष्टता औधि थियो। वास्तवमा मोतीराम भट्टले लेखेका अधिकांश गजलहरू पनि श्रृङ्गार रसले भरिएका नै पाइन्छन्। यिनका श्रृङाररसका धेरै कविताहरू केटीहरूसँगकै भेटघाटका अवसरमा तयार भएका मानिन्छन् :
- यि सानै उमेर् देखि मन् हर्न लागे
- यिनै सुन्दरीले जुलुम् गर्न लागे।।
साहित्यिक सक्रियता
[सम्पादन गर्नुहोस्]मोतीराम भट्टले नेपाली साहित्याकाशमा सक्रिय भई जम्मा पन्ध्र वर्षजति सेवा गरे। त्यस अवधिमा उनले झन्डै पच्चीसवटाजति साहित्यिक कृति लेखे, सम्पादन गरे। यिनले अरू लेखकका पनि कृति प्रकाशित गराए। यिनले लेखेका कृतिहरू हुन्
क्र०सं० | पुस्तकको नाम | विधा | प्रकाशित गरेको साल (वि०सं०) |
१ | मनोद् वेगप्रवाह | कविता सङ्ग्रह | १९४२ |
२ | प्रह्लाद भक्तिकथा | काव्य | १९४३ |
३ | पञ्चकप्रपञ्च | काव्य | १९४४ |
४ | शकुन्तला | नाटक | १९४४ |
५ | प्रह्लाद भक्तिकथा | काव्य | १९४३ |
७ | सङ्गीत चन्द्रोदय | केही गजल | १९४४ |
८ | अनुप्रासमञ्जरी | - | १९४४ तिर |
९ | उषाचरित्र (काव्य) | काव्य | १९४४ |
१० | शकुनौ ती | शकुनविचार | १९४४ |
११ | स्वप्नाध्याय | स्वप्नविचार | १९४४ |
१२ | गफाष्टक | - | १९४४ तिर |
१३ | चाणक्यनीति | - | १९४४ |
१४ | पद्मावती | नाटक अपूर्ण | १९४५ |
१५ | पिकदूत | काव्य | १९४४ |
१६ | काशीराज चन्द्रसेन | शकुनविचार | १९४४ |
१७ | गुलसनोवर | आख्यान | १९४६ |
१८ | उखानको बखान | - | - |
१९ | कालभ्रमरसंवाद | काव्य | - |
२० | बालाजीवर्णन | कविता | - |
२१ | भानुभक्तको जीवन-चरित्र | जीवनी तथा समालोचना | १९४८ |
२२ | प्रियदर्शिका | नाटक | १९४९ |
२३ | तीजको कथा | कथा | - |
२४ | रामायण बालकाण्ड(published by motiram ,written by bhanubhakta Acharya) | भानुभक्त रचित सम्पादन | १९४१ |
२५ | सम्पूर्ण रामायण( | भानुभक्त रचित सम्पादन | १९४४ |
मोतीराम भट्टले युवाअवस्थामा आफ्नो सारा भावना, जाँगर र सक्रियता अर्पे र नेपाली साहित्यको विकासमा अतुलनीय, अविस्मरणीय र अकल्पनीय सृजनात्मक र स•ठनात्मक साहित्यिक कार्य हरू गरेका थिए। उनले गरेका समस्त कार्य हरूको मूल्याङ्न गर्दा उनको व्यक्तित्वलाई निम्नलिखित पाँचवटा पाटामा वर्गीकरण गर्न सकिन्छ :
- (१) जीवनीकार, समालोचक तथा अन्वेषक
- (२) कवि, गजलकार तथा गायक
- (३) समस्यापूर्ति कार तथा सङ्गठनकर्ता
- (४) नाटककार तथा निर्देशक
- (५) सम्पादक, छापाखाना र पत्रिकाका प्रबन्धक तथा पुस्तकालयका निर्माता।
जीवनीकार, समालोचक तथा अन्वेषक
[सम्पादन गर्नुहोस्]नेपाली साहित्यजगत्मा पहिलो जीवनीलेखक मोतीराम भट्ट हुन्। १९४८ सालमा भट्टले भानुभक्त आचार्यको जीवनीको पुस्तक लेखेका थिए। नेपाली साहित्यका आदि समालोचक नै मोतीराम भट्ट थिए। यिनले र्सवप्रथम भानुभक्तको रचनाको समालोचना गरी नेपाली साहित्यमा समालोचनाको आरम्भ गरेका थिए। भानुभक्तको जीवन-चरित्रमा खालि भानुभक्त आचार्यको जीवनीमात्र प्रस्तुत नगरी आचार्य का कवित्वशक्तिको मोतीरामले समालोचना गरेका छन्। त्यसै कृतिमा मोतीरामले भानुभक्तलाई आदरस्वरूप आदिकविको नामाङ्कन गरेका छन्। तर भानुभक्तभन्दा अघि पनि नेपाली भाषामा कविता लेख्ने कविहरू भएको हुँदा भानुभक्तलाई जातीय कवि भने न्याय होला। हुन त यसबारेमा मोतीराम भट्टले लेखेका पनि छन्- गोर्खाभाषामा हुन त धेरै नामका कवि भानुभक्तभन्दा पहिले भये तर कविताको मर्म जानी भाषापद्य लेखने कविहरूमा आदिकवि भानुभक्त नै हुन्।
मोतीराम भट्ट नेपाली साहित्यका प्रथम अन्वेषक पनि हुन्। उनले नै भानुभक्तको बालकाण्ड रामायण फेला पारे। १७ वर्षको उमेर पार गरिसकेपछि उनी प्रायः भानुभक्तीय निष्ठामा एकोहोरो भएर लागे। त्यसै बेलादेखि उनले भानुभक्तसम्बन्धी जीवनी लेखे, पाण्डुलिपि खोजे। मोतीरामले नै भानुभक्तका वधूशिक्षा,भक्तमाला’,प्रश्नोत्तर’ र रामगीतालाई प्रकाशनमा ल्याएका थिए। यिनले भानुभक्तको अत्यन्तै गहिरिएर खोजिनीति गरे। भानुभक्तका अतिरिक्त यिनले बिहारीलाल, छविलाल, पतञ्जलि आदि व्यक्तिहरू पनि कवि भएको सूचना जनसमक्ष पुर्याएका थिए।
साहित्य-सृजनामा यी आफ्ना दौँतरीहरूलाई नै अगि सारिरहन्थे। आफ्ना पूर्वज, समकालीन र पछाडिका मान्छेको उनी खुवै प्रशंसा गर्थे। यिनले भानुभक्तलाई कहीँ आदिकवि भनेका छन्, कहीँ कविकुलमुकुट भनेका छन् भने कहीँ चाहिँ चक्रचूडामणि पनि भनेका छन्। त्यसैगरी यिनले राजीवलोचन जोशीलाई कवि शिरोमणि र पद्मविलास पन्तलाई कवि भनेर सम्बोधन गरेका छन्। मोतीराम भट्टले आफूले मनले खाएको व्यक्तिको स्तुति गरेर कविता पनि लेखिदिन्थे। उनले भानुभक्त, राजीवलोचन र पद्मविलासको काव्यात्मक महिमा निकै राम्ररी गाएका छन्।
कवि, गजलकार तथा गायक
[सम्पादन गर्नुहोस्]मोतीराम भट्टले श्रृङ्गर, भक्ति तथा राष्ट्रियताका विषयमा थुप्रै कविताहरू लेखे श्रृङ्गारिक कविताका चाहिँ उनी निर्मा ता नै बने। श्लोकसङ्ग्रह र मनोद्वेग प्रवाहमा मोतीराम भट्टका थुप्रै श्रृङ्गारिक कविता रहेका छन्। पिकदूत’ भट्टको श्रृङ्गाररसको अर्को काव्य हो। मोतीराम भट्टले नै नेपाली भाषामा गजलको आविष्कार गरे। यिनले नेपाली भाषामा थुप्रै गजल लेखेर लोकप्रिय बनाएका छन्। त्यस बेला यिनको गजललेखनबाट लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, नरदेव पाण्डे पनि आकर्षित भए र उनीहरूले पनि गजल लेख्न थाले। भट्टकै प्रेरणाबाट शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी र मवीवि शाहले पनि नेपाली काव्यविधामा गजललाई महत्त्वपूर्ण किसिमले प्राथमिकता दिए। भट्ट गजलकार मात्र नभएर गायक पनि थिए। त्यसबेला दरबारमा उर्दूका गीतगजल गाएको देखेर यिनले नेपाली गजलगीत लेखे र गाएर पनि प्रस्तुत गर्न थाले। दरबारमा पनि क्रमशः मोतीराम भट्टले लेखेका गजल चल्न थाले :
- यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्
- उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन्।
समस्यापूर्ति कार तथा सङ्गठनकर्ता
[सम्पादन गर्नुहोस्]समस्यापूर्ति कविता लेख्ने जाँगर चलेपछि अरूलाई पनि यस विषयमा केन्द्रित गर्न उनले काठमाडौ तथा बनारस दुवै ठाउँमा मित्रमण्डलीको स्थापना गरे। संस्कृत वाङ्मयको पुरानो चलनलाई नेपाली भाषामा कायम गराउन उनी खुबै जुटे र समस्यापूर्तिको कविता सर्वप्रथम भट्टले नै आफै लेखे। बनारसमा बसेको बेला यिनले आफ्ना हितैषी साथीहरू तेजबहादुर, काशीनाथ, रङ्गनाथ, चेत सिंह र पद्मविलासलाई पनि समस्यापूर्तिका कविता लेख्न निपूर्ण बनाए। यिनले काठमाडौमा राजीवलोचन जोशी, भोजराज पाण्डे, डोलेश्वर, लक्ष्मीदत्त पन्त, नरदेव पाण्डे, कालीप्रसाद, देवराज र गोपीनाथ लोहनी आदिलाई पनि सङ्गठनात्मक रूपमा समस्यापूर्तिको कविता लेख्न वातावरण जुटाए। वास्तवमा उनीहरू पनि क्रमशः क्रमशः समस्यापूर्ति ’ कविता लेख्न निपुण भएका थिए।
नाटककार तथा निर्देशक
[सम्पादन गर्नुहोस्]मोतीराम भट्टले नेपाली भाषामा शकुन्तला’, प्रियदर्शिका र पद्मावती’ गरी तीनवटा नाटक लेखेका थिए। हुन त यिनले उर्दूमा पनि नाटक लेखेका थिए। शकुन्तला नाटक यिनले आफ्ना साथी देवशमशेर ज.ब.रा.को. अनुरोधमा लेखन र निर्देशन गरेका थिए। यिनले निर्देशन गरेको यो नाटक प्रधानमन्त्री वीरशमशेर ज.ब.रा.ले पनि हेरे। यो नाटक दरबारबाट पुनः बाहिर निस्केन। भनिन्छ देवशमशेरबाट नै यस नाटकलाई दबाइएको हुन सक्छ। जे होस् , मोतीराम भट्ट नाटकलेखनमा जति कुशल थिए निर्देशनकलामा पनि त्यति नै पोख्त थिए।
सम्पादक, छापाखाना र पत्रिकाका प्रबन्धक तथा पुस्तकालयका निर्माता
[सम्पादन गर्नुहोस्]मोतीराम भट्टले प्रायः भानुभक्त आचार्यका कृतिहरूको मात्र सम्पादन गरेको पाइन्छ। भानुभक्तको बालकाण्ड रामायण यिनैको सक्रियता, सौजन्य र भूमिगत सम्पादनमा प्रकाशित भएको थियो। भानुभक्तकृत भाषा रामायणको यिनैले सम्पादन गरेका थिए। त्यसैगरी मोतीरामले भानुभक्तका भक्तमाला, रामगीता, प्रश्नोत्तरा र वधूशिक्षाको पनि सम्पादन गरेका थिए।
मोतीराम भट्टले नै पहिलो नेपाली मासिक पत्रिकाको प्रकाशनको प्रबन्ध गरे। यिनले निकालेको पत्रिकाको नाउँ थियो - गोरखा भारतजीवन र यो पत्रिका बनारसबाट प्रकाशित भएको थियो। यिनले बनारसका आफ्ना हितैषी मित्र रामकृष्ण बर्माको सहयोग लिएर भारतजीवननामक छापाखाना स्थापना गराए। त्यस छापाखानालाई यिनैले जिम्मा लिई यिनी आफू त्यसको प्रबन्धकका रूपमा बसे। भट्टले त्यही छापाखानाबाट भानुभक्तका कृतिहरू पनि छपाए। भट्टले यस छापाखानाबाट यसका स्वामी रामकृष्ण बर्मा लाई पनि निक्कै आर्थिक लाभ पुर्याएका थिए।
मोतीरामले नेपालमा आफ्ना मामा कृष्णदेव पाण्डे र आफ्ना अभिन्न मित्र धीरेन्द्रसँग मिली ठहिटीमा पाशुपत छापाखानाको स्थापना गरे। १९५० सालमा खोलिएको यो छापाखाना त्यति बेलाको नेपालको प्रसिद्ध छापाखाना मानिएको छ। पाशुपत छापाखानाको स्थापनापश्चात् त्यहाँबाट नेपाली भाषासाहित्यका थुप्रै पुस्तक र पत्रिकाहरू छापिन थाले। आफ्ना मामा कृष्णदेव पाण्डेसँग मिलेर आफ्नो नाउँसमेत जोडी काठमाडौँको ठहिटीमा यिनले एउटा पुस्तकालयको स्थापना गरे- मोतीकृष्ण कम्पनी। यिनले त्यस पुस्तकालयमा नेपाली भाषाका यथेष्ट पुस्तकहरू जोड्न थाले। मोतीकृष्ण कम्पनीबाट पुस्तकहरू पनि बेचिने कार्य हुन्थ्यो। उनले नेपाली भाषाको पहिलो पुस्तकालयको निर्माण गरेर नेपाली भाषासाहित्यको सेवा गरेका थिए।
मोतीराम भट्ट नेपाली साहित्यप्रदेशका एउटा अलौ किक व्यक्तित्व थिए। उनी नेपाली भाषासाहित्यको सृजना, स•ठनका प्रेरक, श्रद्धेय र आधिकारिक पुरुष थिए। पढ्दै , पुस्तक लेख्तै, सम्पादन गर्दै, पत्रिका चलाउँदै , पुस्तकालय खोल्दै , छापाखानाको स्थापना गर्दै, अरूलाई लेख्न प्रेरणा दिँदै यिनले नेपाली धर्ती लाई बिर्सि नसक्नुको गुन लगाएका छन्। नेपालका लागि मरिमेट्ने उनी ठूला सपूत थिए। आफ्नो जीवनको अथक मिहिनेत, बौद्धिक कसरत र हिम्मतका कारणले उनी नेपाली माटोमा चिरस्मरणीय छन्। उनको योगदानका कारणले उनी यस देशका राष्ट्रिय विभूति बनेका छन्। उनका नाउँमा कैयौँ सङ्घसंस्था, बाटाघाटाको निर्माण भएका छन्। उनका नाउँमा हुलाक टिकट निकालिएको छ। उनैको नाउमा युवावर्ष मोती पुरस्कारसमेत स्थापना भएको छ जुन पुरस्कार नेपाली साहित्यका युवा पिँडीको सर्वोच्च पुरस्कारका रूपमा रहेको छ। उनले ती पुरस्कारले असाएहरु लाई सहयोग पनि गरे।
बहुमुखी प्रतिभाका धनी मोतीराम भट्ट राष्ट्रभाषा नेपालीका पहिलो उत्थापक थिए। मोतीरामको सृजना, गोडमेल र जलमलका कारणले नेपाली भाषाले आजको स्थिति ओगटेको हो। उनको यो मुलुकप्रति अत्यन्तै ठूलो सद्भावना थियो। [१]
- अचल् झन्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा
- रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा
- यवन्ले राज गर्दा कति पतित हिन्दूस्थल भयो
- फगत् यो नेपाल्को मुलुक बचि कंचन् रहिगयो।
विश्लेषण
[सम्पादन गर्नुहोस्]भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
- नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
- घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
- मो भानुभक्त धनि भै कन आज यस्तो॥
यस सिलोकको चौथो हरफमा प्रयुक्त मो शब्दबाट यसको रचना मोतीराम आफैँले गरेका थिए भनिन्छ। भानुभक्तले कतै पनि मलाई 'मो' नलेखेका तर मोतीरामले स्वंय 'मो' लेखेका मानिन्छ। जनजीवनमा साहित्यिक र भाषिक भावनाबाट जागरण ल्याउन, नेपाली साहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्याउन मोतीराम भट्टले भानुभक्त आचार्यको यथेष्ट कदर गरेका थिए।
मोतीराम भट्टले भानुभक्त आचार्यका विषयमा लेखेका प्रायः सबै बेहोरालाई नै नेपाली साहित्यको इतिहासले आधिकारिक रूपमा ग्रहण गरेको छ। त्यस बेला मोतीरामले भानुभक्तलाई प्रकाशमा ल्याउन उनका विषयमा चलाएको कलमको सानो नमुना कवि भानुभक्त आचार्यको जीवन-चरित्रको भूमिकामा भनिएको यस कथनले स्पष्ट पार्छ :
कदाचित् "कवि भानुभक्त"को कविता हेरेर तपाञीहरूको इच्छा जीवन-चरित्र पनि हेर्नको भयो होला, तस् अर्थ कविको जीवन वृत्तान्त हालमा लेखी छपायाको छू सो हेरी निज कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्न हुनुभयो भने भला मेरो परिश्रम पनि सु˚ल होला। यथाशक्य कविका निर्मि त श्लोक बयान समेत राखी यो जीवन चरित्र लेखेको छू। कवि भानुभक्त आचार्यका भतीजा रामदत्तकन मो अनेकानेक धन्न्यवाद दिन् छू जसले मलाई निज कविका अनेक हाल यथार्थ भन्नुभयो जस् का कृपाले यो पुस्तक्को जन्म भयो।
मोतीराम भट्ट जोसँगै पनि खुलस्त हुन्थे। उनी साथीभाइ भनेपछि पनि मरिमेट्थे। दरबार हाई स्कूलमा उनका सहपाठी चन्द्रशमशेर ज.ब.रा. तथा देवशमशेर ज.ब.रा. थिए। त्यस बेला मोतीराम भट्टको देशप्रतिको चाहनालाई भावी प्रधानमन्त्री देवशमशेर ज.ब.रा.ले राम्ररी हृदयङम गरेका थिए। त्यसबेला देवशमशेरको सुधारवादी दृष्टिकोणमा मोतीरामको प्रशस्तै भूमिका थियो। देवशमशेर प्रधानमन्त्री हुनु र अर्का तिर उक्त समय मोतीरामको निधन हुनाले देवशमशेरले चाहिने जति सुधारमा मोतीराम भट्टको सहयोग पाउन नसकेको बताइन्छ ।
मृत्यु
[सम्पादन गर्नुहोस्]बि.स. १९५३ भाद्र कृष्ण औसी, काठमाडौँमा तीस वर्षको उमेरमा भट्टको निधन भयो। उहाँको निधनले सारा देश रून लागयो।
सम्बन्धित बाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]
यी पनि हेर्नुस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नई प्रकाशन वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-०८ मिति