पञ्चकोशी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(पंचकोशी तिर्थस्थल बाट पठाईएको)
Jump to navigation Jump to search

पञ्चकोशी दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकोले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तीर्थ भनेर वर्णन गरिएको छ। यस तीर्थलाई अग्नि तीर्थ भनेर पनि चिनिन्छ। प्राचीनकालका खसमल्ल राजाहरूले यस तीर्थलाई पञ्कोशी भनेर नामांकन गरी तीर्थ यात्राको थालनी गरे यता यस तीर्थको नाम पञ्चकोशी रहन गएको अनुमान छ। पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पितृ कर्म लगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन्। भौगोलिक विकटताको कारणले उजागर हुन नसकेको पञ्चकोशीले धार्मिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक महत्त्वसमेत ओगटेको छ । पञ्चकोशी नेपालकै प्रचुर मात्रामा पेट्रोलियम ग्यासको सम्भाव्य क्षेत्र हो । विसं २०७२ को चैतमा नेपालचिन बीच भएको द्विपक्षिय सम्झौता अनुशार यस क्षेत्रमा पेट्रोलियम ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिन बनेको परियोजनालाई नेपाल सरकारले स्विकृत गरेको थियो। अब नेपाल र चिनको खानी विभागस्तरबाट यो परियोजना सञ्चालन हुँदै छ। २०७३ सालको बैशाख महिनामा चिनियाँ टोलीले पेट्रोलियम उत्खननको सम्भावना बारे प्रारम्भिक अध्यायन गरेको थियो। द्विपक्षीय सम्झौतापछि चिनियाँ टोलीले नेपाल आएर सम्भाव्य क्षेत्रका चट्टान लगायत नमुना चिनमा लगेको थियो। त्यसको रिपोर्ट आएको दुई वर्षपछि अन्वेषणका लागि तयार भएर परियोजना तयार भएको हो। [१] यसैले यो क्षेत्र नेपालकै आर्थिक महत्त्व ओगटेको क्षेत्र मानिएको छ। नेपाली भाषाको उत्पत्ति स्थान जुम्लाको सिंजालाई मानिए पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख यसै पञ्चकोशी क्षेत्रको दुल्लुमा रहेको छ । अहिलेसम्मको अध्यायन अनुसार सबैभन्दा पुरानो मानिएको दामुपाल, अढईपाल द्वारा शाक्य ९ सय तिन तदानुशार विक्रमसंवत १ हजार ३८ को शिलालेख यसै क्षेत्रमा रहेको छ। यसका साथै विक्रम संवत १४१४ को पृथ्वी मल्लले बनाएको सातहात लामो किर्तिस्तम्भ पनि यसै क्षेत्रमा रहेको छ। [२] यसका साथै पादुकामा रहेको अशोक चल्लको स्तम्भ शीरस्थानमा रहेको अभिलेखका साथै बाटोभरि जताततै गाडिएका वीरखम्बाहरूमा भएका अभिलेखहरूले नेपाली भाषा तथा पश्चिम नेपालको इतिहास केलाउनमा धेरै महत्त्व राख्दछन्। तसर्थ यो क्षेत्रलाई नेपालकै ऐतिहासिक महत्त्व बोकेको स्थानको रूपमा लिइन्छ। यस क्षेत्रको प्राकृतिक सौन्दर्यता, यहाँको संस्कृति र यस क्षेत्रमा रहेका अगण्य धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूले यस क्षेत्रमा आउने कुनै पनि बाह्य तथा आन्तरिक पर्यटकहरूको मन लोभ्याउन सफल भूमिका निर्वाह गर्ने भएकाले यस क्षेत्रले पर्यटकीय महत्त्वलाई पनि त्यत्तिकै अंगालेको छ। धार्मिक महत्त्वको कुरा गर्नुपर्दा यस क्षेत्रलाई संसारका सबै तीर्थहरू भन्दा पनि पुण्यक्षेत्र मानिएको छ।

वाराणस्याः प्रयागश्च मायापुर्याः विशेषतः ।
इदं क्षेत्रं महापुण्यं कलौ कल्मषनाशनम् ॥

अथवा वाराणसी, प्रयाग, मायापुरी (हरिद्वार)भन्दा विशेष गरेर यो ज्वालाक्षेत्र महापूण्यदायक र यो कलि युगमा पापनाशक पनि छ। [३] पादुका, नाभिस्थान, कोटीला, श्रीस्थानधुलेश्वरलाई पाँचथान पञ्चकोशीको नाम दिईएको छ। कसैकसैले कोटिलास्थानलाई छोडेर डुङ्गेश्वरलाई पञ्चकोशी भित्र समेटेको पनि पाइन्छ । हुन त डुङ्गेश्वर पनि दैलेख जिल्लाको एक पीठ नै हो। पञ्चकोशी शब्द (पञ्च + कोशी)को अर्थ पाँच कोश भन्ने हुन्छ। धुलेश्वर मन्दिरलाई पञ्चकोशी क्षेत्रको केन्द्र मानिन्छ । धुलेश्वर मन्दिर वरिपरिको पाँचकोशको परिधिभित्र पर्ने क्षेत्रलाई पञ्चकोशी भनिन्छ। अर्को अर्थमा भन्नुपर्दा धुलेश्वर मन्दिरबाट पाँच कोश पूर्व, पाँच कोश पश्चिम, पाँच कोश उत्तर र पाँच कोश दक्षिणभित्र पर्ने सम्पूर्ण भूभाग पञ्चकोशी क्षेत्र कहलाइन्छ।[४]

उपत्न सम्वन्धी प्रसंगहरू[सम्पादन गर्ने]

पञ्चकोशीको उत्पन्न बारे कुनै ठोस प्रमाण नभेटिए तापनि केही किंवदन्तीहरू यसप्रकार रहेका छन्।

  1. पौराणिककालमा दैत्यहरूले त्रिलोकमा अन्याय र अत्याचार गर्न थालेपछि ध्यानमा बसेका भगवान शिवलाई जगाउनको लागि देवताहरूले कामदेवलाई पठाए। आफ्नो ध्यान भङ्ग भएकोले क्रोधमा आएर ध्यानमग्न शिवले आफ्नो तेश्रो नेत्र खोल्दा नेत्रबाट निस्केकी अग्निज्वालाले कामदेवलाई भस्म पारिन्। यो देखेर भगवान शिवलाई पश्चाताप भयो र आफ्ना ज्वालाहरूलाई एकत्रित गरेर फालिदिए। यो अग्निज्वाला हिमालय खण्डमा रहेको दुर्लभ पर्वतमा गएर खस्यो। यसरी खसेका ज्वालाहरूका तीन स्थान भए शिरस्थान, नाभिस्थान र पादुकास्थान। यसरी शिवअंगको वासस्थान भएकोले यहाँ सम्पूर्ण देवता, तीर्थ तथा नदीहरू आएर बसे। यस क्षेत्रको बीचमा धुलीस्थान अथवा धुलेश्वर छ यहाँ सम्पूर्ण देवताहरूको वास रहेको छ।[३]
  2. पौराणिककालमा महादेवकी पत्नी सतिदेवीले आफ्ना पिता दक्ष प्रजापतिको यज्ञकुण्डमा हामफालेर आफ्नो प्राण दिएका बेला पत्नी वियोगमा परेका महादेवले पत्नीको मृत शरीरलाई बोकेर चौध भुवन घुम्ने क्रममा सतीदेवीको मृत शरीर गलेर विभिन्न ठाउँमा झरेको कुरा स्वस्थानीव्रत कथालगायत हिन्दु धर्मका सबै धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ। जहाँजहाँ सतीदेवीका अङ्गहरू पतन भए त्यहाँत्यहाँ एकएक वटा शक्तिपीठ बन्दै गएका थिए। यसै क्रममा पञ्चकोशीको पादुकामा पाउ खसेको, नाभिस्थानमा नाभि खसेको, कोटिलामा कोखा खसेको, श्रीस्थानमा शिर खसेको र धुलेश्वरमा धुलो (बाँकी रहेको अंग) खसेको, भन्ने भनाई छ। श्रीपीठमा शिर पतन भएको भन्ने स्वस्थानी व्रतकथामा लेखिएको छ। कतिपएले पञ्चकोशी क्षेत्रको शिरस्थान नै श्रीपीठ हो भन्दछन्।[५]
  3. महाभारत का पात्र पाँच पाण्डवहरू वनवास गएका बेला भिमसेनलाई सर्प रुपी राजा नहुषले बाधा गर्दा पाण्डवहरूका जेठा भाइ युधिष्ठिरले सर्परुपी राजा नहुषलाई सर्प रूपबाट मुक्त गरेका थिए। यसै बेला सर्परूपी राजा नहुषको पादुकामा पाउ खसेको, नाभिस्थानमा नाभि खसेको, कोटिलामा कोखा खसेको, श्रीस्थानमा शिर खसेको र धुलेश्वरमा धुलो (बाँकी रहेको अंग) खसेको, भन्ने भनाइ छ।[५]
  4. परापूर्व कालमा भैरी गाउँका एकजना बृद्ध व्याक्ति मर्न लाग्दा उनको प्राण छिटो नगएकाले उनका छोराहरूले बुढाको अन्तिम इच्छा सोध्दा बुढाले दुल्लुको नागदुलोमा रहेको ठुलो सर्पलाई मारी आफ्नो दाहसंस्कार नाभिस्थनमा गराउनु पर्ने इच्छा प्रकट गरेकाले बुढाका पाँच भाइ छोराहरूले अनेक प्रयास गरी सदियौ्ँदेखि मलामीहरूलाई खाने सर्पलाई मारेर आफ्नो बाबुको अन्तिम इछ्छा पुरा गरेका थिए। सर्पलाई मारेर आफ्ना धनुषहरू नाभिस्थनमा गाडेर आएका थिए। उक्त धनुषहरू पलाएर बनेका बाँसका झांगहरू र दुल्लुको नाग दुलो अँझै पनि छदै छन्। यसरी सर्प मार्ने क्रममा सर्पका अंगहरू पादुकामा पाउ खसेको, नाभिस्थानमा नाभि खसेको, कोटिलामा कोखा खसेको, श्रीस्थानमा शिर खसेको र धुलेश्वरमा धुलो (बाँकी रहेको अंग) खसेको, भन्ने भनाई छ।[५]

धार्मिक महत्त्व[सम्पादन गर्ने]

ज्वालादेवी महापुण्या ज्वालाक्षेत्रं महद्भूतम्। ज्वालाक्षेत्रस्य स्थानानी सर्वमेतत्सुदुर्लभम्॥
कोटीजन्मोद्भवं पुण्यं यस्य देहे प्रतिष्ठितम्। स एव पावके ह्यस्मिन् क्षेत्रे प्राप्नोति संस्थितिम्॥

(महापुण्यदायी ज्वालादेवी, अद्भूत ज्वालाक्षेत्र र यस क्षेत्रमा रहेका सबै स्थानहरू अद्भुत भएकाले समस्त ज्वालाक्षेत्रमा जन्मने र निवास गर्ने सौभाग्य प्राप्त गर्दछ। त्यसकारण जसले कोटीकोटी जन्मसम्म पुण्यदायक कार्य गरेको छ, त्यसले मात्र ज्वाला क्षेत्रमा जन्मने र निवास गर्ने सौभाग्य प्राप्त गर्दछ।[६] हुन त दैलेख जिल्लाका हरेक कुनाकन्दरा, पहाडका चुचुराहरू मन्दिर र देवस्थलले सिंगारिएका छन्। यसैले दैलेख जिल्लालाई पौराणिककालमा देवलोक भनिन्थ्यो। आजकाल पञ्चकोशी क्षेत्रलाई मात्र ज्वालाक्षेत्र भनिए पनि पुराणहरूमा समग्र दैलेख जिल्ला लगायत भेरीकर्णाली भित्रको सबै क्षेत्रलाई ज्वालाक्षेत्र भनेर वर्णन गरिएको छ। वैश्वानर पुराणका अनुसार यहाँका प्रत्यक तीर्थस्थललाई अग्निदेवताको प्रतीक मानिन्छ। परापुर्व कालदेखि एक पवित्र तीर्थस्थलको रूपमा मानिने यस क्षेत्रमा श्राद्ध, पूजा, होम, जप, तप र दान इत्यादि कर्म गर्नाले महापुण्यदायक फल प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ। यसैगरी आज पनि पञ्चकोशी क्षेत्रमा हरिशंकरी यात्रा गरेर पुण्य लाभ गर्ने जन विश्वास कायमै छ। खास गरेर पश्चिम नेपालका देवताका धामीहरूले आफ्नो शक्ति प्राप्त गर्न यो क्षेत्रको परिक्रमा गर्ने गर्दछन्। पश्चिम नेपालका डोटी, अछाम, बाजुरा, कालिकोट, जुम्ला, जाजरकोटसुर्खेत जिल्लाहरूका अधिकांश देवी देवताहरूलाई पञ्चकोशीमा ल्याएर नुहाउनाले देवताको शक्ति बढ्दछ भन्ने धार्मिक मान्यता रहेको छ ।

पञ्चकोशीका मुख्य स्थानहरू[सम्पादन गर्ने]

खास गरेर पाँचवटा स्थानहरूलाई मात्र पाँचथान पञ्चकोशीको नाम दिइएको भए पनि पञ्चकोशी क्षेत्र भित्र अनेकौं धार्मिकस्थलहरू पर्दछन्। मुख्य पाँच स्थानहरूमा पनि प्रमाणिक आधारमा कोटिलास्थानलाई पञ्चकोशीको पाँचौ स्थान मानिएको छ भने केही व्यक्तिहरू पञ्चकोशीको पाँचौ स्थान कोटिलास्थान नभएर डुङ्गेश्वर हो भन्ने दावी गर्दछन्। पञ्चकोशीमा गरिने हरिशंकरी यात्रामा र अन्य धार्मिक यात्रामा कोटिलास्थान र डुङ्गेश्वर दुवै स्थानलाई समेटिने गरिन्छ। यी मुख्य स्थानका साथै पञ्चकोशी तीर्थस्थल भित्र बालेश्वर मन्दिर, ब्रह्मकुण्ड, लामादुवाला, भैरवीकुण्ड, बाणगङ्गा, ललाट, ज्वालपादेवी, दुग्धेश्वर, शिवलिङ्गी, माधव पर्वत, क्षेत्रपाल भूमी, त्रीपुष्कर, शिखर मालिका, धर्मगद्दी, आदि अगण्य धार्मिक स्थलहरू रहेका छन्।

पादुकास्थान[सम्पादन गर्ने]

वीचमा भगवान विष्णुको पद चिन्ह भएको शिला जसमा भक्तहरूले रातो रंग र फूल अर्पण गर्छन्

पादुकास्थान पञ्चकोशी क्षेत्रमा पर्ने पाँच स्थान मध्यको एक स्थान हो। पौराणिक कथा अनुसार महादेवकी पत्नी सतीदेवीको पाउ पतन भएकाले पादुका नाम रहन गएको भनिने यो स्थल दैलेख जिल्लाको पादुका गा.वि.स.मा पर्दछ। यो स्थानमा भगवान विष्णुका पद चिन्हको छाप भएको शिला प्राप्त भएकोले यो स्थानलाई विष्णु पादुकाको नामले पनि चिनिन्छ। पहिले यहाँ शिरस्थान र नाभिस्थानजस्तै पानीमाथि ज्वाला बलेको देखिन्थ्यो त्यसैले यहाँ एक ज्वालाघर रहेको छ। तर वि. सं. २०२८ मा पादुका खोलामा आएको बाढीले ज्वाला पुरेकाले अब ज्वाला देखिदैन। पादुका खोलाको किनारामा भएको मन्दिरसहित उक्त बाढीले बगाएर लगेकोले खोलैभरि शिलालेख, मूर्ति, खम्बा, देवलका भग्नावशेष आदि पुरातात्विक वस्तुहरू यत्रतत्र छरिएका छन्। कसै कसैले यस खोलाबाट मटितेल निकालेको पनि सुन्न पाइन्छ। योगी नरहरिनाथले आफ्नो अध्यायनपश्चात् प्रकाशित गरेको इतिहास प्रकाशका अनुसार यहाँ १०८ भन्दा बढी देवलहरू रहेका थिए भन्ने अनुमान गरिएको छ। यहाँको मन्दिर क्षेत्रमा शिव, भैरव, गोरखनाथ, बुद्ध, जैन, लक्ष्मी-नारायण, गणेश, मच्छेन्द्रनाथ, शिवलिंग अस्तव्यस्त अवस्थामा रहेको छन्। ज्वालाघरको गर्भगृहमा अग्निकुंड रहेको छ। मन्दिर परिसरमा एक धर्मशाला रहेको छ। धर्मशाला पनि जिर्ण अवस्थामा रहेको छ। धर्मशाला नजिकैको रुखमुनी अनगिन्ती कलात्मक प्रस्तरहरू यत्रतत्र छरिएर रहेका छन्। अत्यन्त कलाकौशलका साथ कुंदिएका प्रस्तरहरू छरपट्ट अवस्थामा रहेका छन्। मन्दिर परिसरमा विश्वकै दुर्लभ भनेर चिनिने रुद्राक्षको रुख रहेका छन्। "पादुकास्थान खस साम्राज्यकालको प्रारम्भिक अध्यायनको लागि खुला सङ्ग्रहालय हो। यहाँ शाके संवत ११३६, ११६२ को अभिलेख र खस राजा अशोकचल्लकालिक सउन कार्की साउका कार्क्यानीले राखेको देवल स्तम्भ रहेको छ।

धुलेश्वर[सम्पादन गर्ने]

ज्वालाघर धुलेश्वर महादेव मन्दिर

धुलेश्वर पञ्चकोशीका पाँच स्थान अन्तर्गत पर्ने एक स्थान हो । यो स्थल दैलेख जिल्लाको बडलम्जी गा.वि.स.को वडा नंवर- ८ मा पर्दछ। यहाँ मन्दिरभित्र जमिनबाट धुलो निस्किन्छ। वैज्ञानिकहरू यसलाई मृत ज्वालामुखी बताउछन् भने धार्मिक मान्यता अनुसार यो एक दैविक शक्तिद्वारा धुलो निस्केको मानिन्छ। धुलेश्वर मन्दिरलाई पञ्चकोशी तीर्थस्थल अन्तरगत पर्ने पाँच स्थान पादुकास्थान, शिरस्थान, नाभिस्थान, कोटिलास्थान र धुलेश्वरमा मुख्य स्थान मानिन्छ। वैश्वानर पुराण र ज्वाला पञ्चकोशी तीर्थयात्राको नियम अनुसार पादुकास्थान, शिरस्थान र नाभिस्थान मन्दिरहरूको यात्रा गर्न धुलेश्वरबाट गएर बेलुका धुलेश्वरमा नै आएर वास बस्नु पर्ने नियम छ। वैश्वानर पुराणको हिमवंत खण्डमा दुल्लु वरिपरि सवालाख पर्वतहरूको बीचमा छरिएर रहेको ज्वाला पर्वत बद्रीनाथकेदारनाथ भन्दा पनि बढी पुण्यदायक छ भनेर वर्णन गरिएको छ। धुलेश्वर मन्दिर परिसरमा ज्वालाघर, भैरव मन्दिर, मष्टा मन्दिर, गाधीघर र शिव मन्दिर रहेका छन्। ज्वालाघरमा २ वटा नेपाली भाषाको शिलालेख रहेका छन्। शिलालेखमा लेखिएका अधिकांश अक्षरहरू पढ्न नसकिने अवस्थामा छन्। एक शिलालेखमा महाराजा राजेन्द्रले शाके संवत १७४८ मा स्थापना गरेको धुलेश्वर देवताको मन्दिर भन्ने लेखेको पढ्न सकिन्छ भने अर्को शिलालेखमा शाके संवत १७७८ मा करनेल कुलमान सिंह बस्नेतले छानो हाली बनाएको देवस्थल हो भन्ने पढ्न सकिन्छ। ज्वालाघर नै यहाँको मुख्य मन्दिर हो। ज्वालाघरको भित्र कुण्डमा होम गर्दा जमिनबाट हावाको साथमा धुलो निस्किने भएकोले यो स्थानको नाम धुलेश्वर पर्न गएको हो। धुलेश्वर मन्दिर परिसरमा रहेको शिव मन्दिरको वीचमा शिवलिंग अवस्थित छ। शिवलिंगको एकपट्टि बसाह (नंदीश्वर) र अर्कोपट्टि सिंह छन्। मन्दिर परिसरमा रहेको कालभैरव मन्दिरमा कालभैरव, बालभैरव र बटुकभैरवका शिला (म‍ूर्ति)हरू राखिएका छन्। कालभैरवलाई जीव बली दिएर पूजा गर्ने परम्परा छ भने बालभैरव र बटुकभैरवलाई गाईको दुधको धार दिएर पूजा गरिन्छ। मन्दिर परिसरमा रहेको मष्टा मन्दिरमा मष्टा देवताको शिला रहेको छ। बालभैरव र बटुकभैरव जस्तै मष्टा देवतालाई पनि गाईको दुधको भोग लगाएर पूजा गर्ने प्रचलन रहेको छ। यी देवताहरूलाई मुख्य पूजा गरिने दिन चैते दशैंबडा दशैंमा मात्र भोग लगाइन्छ भने अन्य दिन नित्य पूजा गर्दा धुप, दीप र नैवद्य चढाउने परम्परा छ। मन्दिर परिसरमा रहेको गाधीघरमा तीर्थयात्रीहरूको लागि खाने र बस्ने सुविधा रहेको छ। गाधीघरको जिर्णोद्धार वि.सं. २०५५ सालमा भएको थियो। चैते दशैंबडा दशैंमा विशेष पूजाको दिनमा यहाँ श्रद्वालुहरूको घुइंचो लाग्ने गर्दछ। कुमार पुजारीले मात्र पूजा गर्ने परम्परा रहेको धुलेश्वर मन्दिरमा बिहान र बेलुका नित्यपूजा गरिन्छ।

नाभिस्थान[सम्पादन गर्ने]

नाभिस्थानको मन्दिरहरू

नाभिस्थान पञ्चकोशी अन्तर्गत पर्ने पाँच स्थान मध्यको एक स्थान हो। यो स्थल दैलेख जिल्लाको साविकको गमौडी गाविसमा पर्दछ। हाल यो स्थान भैरवी गाउँपालिका र दुल्लु नगरपालिकाको सिमानामा रहेको छ । नाभिस्थानमा मन्दिरभित्र पानी माथि इन्द्र ज्वाला र वडी ज्वाला नामका २ वटा आगोको ज्वालाहरू निरन्तर रूपमा बलिरहेका देखिन्छन्। वैज्ञानिकहरूले यहाँ पेट्रोल ग्यासको खानी भएको सिद्ध गरेका छन् भने धार्मिक मान्यता अनुसार यी ज्वालाहरू दैविक शक्तिद्वारा देखिएका हुन् भन्ने भनाइ रहेको छ। श्री स्वस्थानी ब्रतकथा अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर यत्र तत्र घुम्ने क्रममा यस स्थानमा आइपुग्दा सतीदेवीको नाभि पतन भएकोले यस स्थानलाई नाभिस्थान भनेर पूजा गर्न थालिएको हो भन्ने स्थानीय जनश्रुति रहेको छ। मन्दिर परिसरमा इँटा, काठ र माटोले बनेका तथा झिंगटीका छाना भएको दक्षिणाभिमुख दुइवटा सत्तल रहेका छन्। एउटा सत्तललाई कोठार (भण्डार) भनिन्छ भने अर्को सत्तललाई धर्मधुनी भनिन्छ। नाभिस्थान मन्दिर पनि दुईपाखे झिंगटीको छानो भएको, इँटा काठ र माटोले बनेको तथा पश्चिम तर्फ फर्केर रहेको छ। मन्दिरको गजुर पित्तलको रहेको छ। मन्दिरको प्रवेशद्वारमा प्रस्तरको गणेश मूर्ति रहेको छ। मन्दिरको ढोकाको खापा वि.सं. १९९७ मा तामाले मोडेको देखिन्छ। मन्दिरभित्र ज्वाला बलिरहेको छ। ज्वाला मन्दिरमा अनवरत रूपमा बलिरहने ज्वालाबाहेक अन्य मूर्तिहरू रहेका छैनन्। नाभिस्थान मन्दिर परिसरमा भैरव र गणेशको मन्दिरहरू पनि रहेका छन्। गादीघर मठमा सूर्य, विष्णु, इन्द्र र देवीहरूका मूर्तिहरू रहेका छन्। यस स्थानमा शिखरशैलीमा निर्माण भएका देवलहरूका भग्नावशेषहरू पनि रहेका छन्। मन्दिर नजिकै विश्वकै दुर्लभ भनेर चिनिने शमीको विशाल वृक्ष रहेको छ, जसलाई पञ्चकोशी तीर्थलस्थलको प्रतीकको रूपमा पनि मानिन्छ। यस मन्दिरमा नाथ सम्प्रादयका योगीहरूद्वारा पूजाआजा गरिन्छ।

शिरस्थान[सम्पादन गर्ने]

शिरस्थान ज्वाला मन्दिर

श्रीस्थान पञ्चकोशी अन्तर्गत पर्ने पाँच स्थानमध्यको एक स्थान हो। यो स्थल दैलेख जिल्लाको साविकको गमौडी गाविस र हालको भैरवी गाउँपालिकामा पर्दछ। श्रीस्थानमा मन्दिरभित्र पानीमाथि आगोको ज्वाला निरन्तर रूपमा बलिरहेको देखिन्छ। वैज्ञानिकहरूले यहाँ पेट्रोल ग्यासको खानी भएको सिद्ध गरेका छन् भने धार्मिक मान्यता अनुसार यो ज्वाला दैविक शक्तिद्वारा देखिएको हो भन्ने भनाइ रहेको छ। शिरस्थान मन्दिर गमौडी गा.वि.स. वडा नंवर ८ मा अवस्थित छ। श्री स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर यत्रतत्र घुम्ने क्रममा यस ठाउँमा आइपुग्दा सतीदेवीको शिर पतन भएकोले यस ठाउँलाई शिरस्थान भनेर पूजा गर्न थालिएको हो भन्ने भनाइ रहेको छ।[५] नाभिखोला अथवा रुद्रावती नदीको किनारामा अवस्थित यस स्थानमा ज्वालाघर, गाधीघर, कालभैरव मन्दिर, वटुक भैरव मन्दिर शिवलिंग रहेको छन्। ज्वालाघर भित्र निरंतर रूपमा बलिरहने आगोको ज्वालालाई शिवज्वाला अथवा वैश्वानर ज्वाला भनेर पूजा गरिन्छ। गाधीघरको माथिल्लोपट्टि कालभैरव मन्दिर रहेको छ। काल भैरव मन्दिरमा संधै सेतो पर्दा लगाइएको हुन्छ। कालभैरव मन्दिरमा पूजा गर्ने पुजारीबाहेक अरूलाई प्रवेश निषेध छ। कालभैरवमा बालब्रह्मचारीलाई मात्र पुजारी भएर पूजा गर्न पाउने प्रचलन छ। ज्वाला घरको पारिपट्टि नाभिखोलाको अर्को किनारामा अर्को ज्वाला मन्दिर रहेको छ। जसलाई कालज्वाला भनेर पूजा गरिन्छ। शिरस्थान मन्दिरमा नाथ सम्प्रादायका सन्यासीहरूले पुजारी भएर पूजाआजा गर्ने प्रचलन रहेको छ।

कोटिलास्थान[सम्पादन गर्ने]

कोटिलास्थान मन्दिर तथा दर्शनको लागि जाँदै एक महिला यात्री

कोटीलास्थान पञ्चकोशीका पाँच स्थान अन्तर्गत पर्ने एक स्थान हो। तर कतिपयको मत अनुसार यो स्थान पञ्चकोशी क्षेत्रमा पर्दैन भन्ने पनि रहेको छ। पौराणिककालमा महादेवकी पत्नी सतीदेवीको कोठी पतन भएकोले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाइ रहेको छ। अर्को मत अनुसार यो स्थानमा देवताका राजा इन्द्रले कोटीहोम चलाएकोले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाइ रहेको छ। संसारको कुनै ठाउँमा पनि नपाइने इन्द्रजौ नामको वनस्पति यस ठाउँमा पाइन्छ। सिमीको कोसाजस्तै फलेको फलको भित्र जौका दानाहरू देखिने यो वनस्पती देवराज इन्द्रले चलाएको कोटीहोमबाट यहाँ उम्रेको हो भन्ने मत रहेको छ। यो स्थान दैलेख जिल्लाको नारायण नगरपालिकाको वडा नंवर ४ मा पर्दछ । कोटिलास्थानको चारैतिर नदीले घेरिएकोले नदीले काटेर बनाएको डाँडोमा अवस्थित छ। डाँडाको उत्तर तर्फ बग्ने सिद्धिखोलाले र पश्चिम तर्फ बग्ने छामघाट खोलाले घेरेको हुनाने यो स्थान एक टापु झैं देखिन्छ। पूर्व तर्फबाट मन्दिर प्रवेश गर्दा वि.सं. १९७७ को घण्टी र शिवलिंग राखिएको छ। ढुंगा र काठले भनेको यस मन्दिरको छाना सिलेटले बनेको छ। यस मन्दिरको जिर्णोद्धार वि.सं. २०५१ मा गरिएको थियो।[७] मन्दिर भित्र शिवलिंग रहेको छ। यसको अगाडि मञ्चमा दक्षिणतर्फ फर्केको वि.सं. १९२२ को सर्पाकार मानक आकृती, कामधेनु गाई, गणेशजी तथा महाँदेवका मूर्तिहरू राखिएका छन्। मन्दिरमा १९८६, २०१३, २०३१ का घण्टहरू रहेका छन्। मन्दिर परिसरमा चारैतर्फ खुल्ला भएको स्लेटको छानो बनाएको होम गर्ने स्थान बनाएको छ। यो मन्दिर निर्माणमा विशालकाय शिलापट्टहरू प्रयोग भएको देखिएता पनि हाल त्यसका अवशेषहरू मात्र बाँकी छन्। मन्दिरको प्राचीनता नष्ट भइसकेको छ। मन्दिर क्षेत्रमा यत्रतत्र छरिएका शिलापट्ट र पाषाण अवशेषहरूलाई हेर्दा यो मन्दिरको स्थापना कत्युरी शासनकालमा भएको मानिन्छ। हालै गरिएको एक अध्यायनका क्रममा यस स्थानमा तिब्बती भाषामा "ॐ मणिपद्मे हुँ" उत्कृण गरिएको प्रस्तर अभिलेख फेला परेको छ। यस अभिलेखबाट खसमल्ल शासनकालमा यस स्थानमा पनि बौद्ध धर्मसँग सम्बद्ध क्रियाकलापहरू हुने गरेको अनुमान गर्न सकिन्छ। यसैगरि यहाँ पनि पादुकास्थान र शिरस्थानको जस्तै छोटा लामा अभिलेखहरू उत्कृण गरिएका केही ढुंगाहरू उपलब्ध भएका छन्। वि.सं. २०७२ साल बैशाख १ गते देखि ३० गतेसम्म पुरा एक महिना यस स्थानमा कोटीहोम चलेको थियो ।

डुङ्गेश्वर[सम्पादन गर्ने]

डुङ्गेल मन्दिर, डुंगेश्वर

डुङ्गेश्वर मन्दिर दैलेख जिल्लाको एक धार्मिक पीठ हो। यो स्थान दैलेख जिल्लाको सबै भन्दा होचो स्थान तल्लो डुङ्गेश्वरमा अवस्थित छ। लोहोरे खोलाकर्णाली नदीको संगममा अवस्थित यस ठाउँको उचाईं समुद्र सतहदेखि ५४४ मिटर रहेको छ। प्राचीन कालमा यहाँ दधिची मुनीको आश्रम रहेको विश्वास गरिन्छ। डुङ्गेश्वरमा शिद्धेश्वर महादेवको र डुङ्गेल मन्दिर गरेर दुईवटा मन्दिरहरू रहेका छन्। कसैकसैले यस क्षेत्रलाई पञ्चकोशी मध्यको एक स्थान हो कोटिलास्थान पञ्चकोशी भित्र पर्दैन भनेर पनि भन्दछन्। यी विविध कारणहरूले गर्दा यसलाई एक पीठ मानिएको छ। यो पीठ हाल दुल्लु नगरपालिकामा जोडिएको नाउलेकटुवाल गाउँमा अवस्थित छ। कर्णाली नदी र लोहरेखोलाको दोभानमा अवस्थित यो शिवालय कर्णाली राजमार्गको छेउमा छ। यो पीठको प्राचीनताको सम्बन्धमा रोचक ऐतिहासिक प्रसंग प्रचलित रहेको छ। दैलेखमा तल्लो डुङ्गेश्वरमाथिल्लो डुङ्गेश्वर नामका दुईवटा स्थानहरू छन्। माथिल्लो डुङ्गेश्वर लगायत मन्दिर नजिकैको पुल पारिको क्षेत्र डुङ्गेश्वर गाउँपालिकामा पर्दछ भने मन्दिर भएको क्षेत्र दुल्लु नगरपालिका भित्र पर्दछ । कुनै समयमा छिउडिपुशाकोटको रिजु पोखराबाट दुध पोखरेल थर भएका ज्योतीखर उपाध्याय नाम गरेको एक जना ब्राह्मण दैनिक रूपमा घरबाट बिहानै हिंडेर तल्लो डुङ्गेश्वरस्थित कर्णाली र लोहरेको संगममा पुगी पञ्चक्रिया तथा स्नानादी सम्पन्न गरेर त्यही नजिकैको गुफा भित्र पस्ने गर्दा रहेछन्। त्यस गुफा भित्र रहेको शिवको प्रतीकमा पूजाआजा तथा ध्यान, जप, तप, सम्पन्न गरेर पुनः आफ्नै घरमा गएर शद्ध भोजन गर्ने ती ब्राह्मणको हातमा एक्कासि अपाङ्गता देखिएछ। आफ्नो शारीरिक अवस्था कमजोर भए पनि पूजापाठमा निरन्तरता दिएका ती ब्राह्मणको वि.सं. १९३५ मा कर्णाली नदीको किनारामा सागर गिरी नाम गरेको एकजना साधुसँग भेट भएछ। ती ब्राह्मणले सागर गिरीसँग आफ्नो अपांगताको कारणले गर्दा शिवपूजा नियमित गर्न सम्भव नभएकाले यस पूजालाई निरन्तर गरिदिन भनी अनुरोध गरेछन्। ती साधुले आफु मतवाली भए पनि ती ब्राह्मणको अनुरोधलाई स्वीकार गरेपछि गिरी थरका कुमार युवकले पूजा परम्परा चलाउने र दुध पोखरेल थरका ब्राह्मणहरूले मन्दिरको होम पाठादी कार्यहरू गर्ने शर्तमा गुफाभित्र रहेको शिवलिंग ल्याएर त्यस स्थानमा स्थापना गरे र आफूमा भएको दैवी शक्ति पनि सागर गिरीलाई हस्तान्त्रण गरे।[७] त्यसपछि भक्तजन तथा राजाप्रजा मिलेर मन्दिरको संरक्षण सम्बर्धन हुँदै गयो। मन्दिरमा पूजा किर्तनका लागि दमाहा, नगारा तथा निसानहरू बनाइए। मन्दिरको ख्याति पनि बढ्दै गयो।

हरिशंकरी यात्रा[सम्पादन गर्ने]

हिन्दु मान्यता अनुसार भगवान विष्णुलाई हरि भनिन्छ भने भगवान शिवलाई शंकर भनिन्छ। हरि र शंकर अथवा विष्णु र शिवको संयुक्त पावनभूमिमा गरिने यात्रालाई नै हरिशंकरी यात्रा भनिन्छ। वैश्वानर पुराणका अनुसार शिरस्थान, नाभिस्थान, कोटिला, धुलेश्वर र पादुकास्थानलाई पञ्चकोशी भनिएको छ। हरेक वर्ष मंसिर महिनोको १ गते देखि यो क्षेत्रमा हरिशंकरी यात्राको सुरु गरेर पाँचैवटा तीर्थस्थानको विधिअनुसार पूजापाठ, दान, जपतप आदि कार्यहरू गरेर अंतमा तल्लो डुङ्गेश्वरमा गएर विसर्जन गरिन्छ। हरिशंकरी यात्राको सुरुमा पहिले नाभिस्थान स्थित भैरवी नदीमा स्नान, पूजापाठ र तर्पण आदि कार्य गरी यात्रा प्रारम्भ गरिन्छ। भैरवी नदी उत्तर तिर बगेकी छन्। त्यस पछी नाभिस्थान नजिकै रहेको सिद्धेश्वर पर्वतको दर्शन गरेर यात्रा अघाडी बढाइन्छ। त्यसपछी सिद्धिदा नदीमा स्नान र पूजापाठ गरिन्छ। त्यसपछी यो क्षेत्रमा रहेका सम्पूर्ण तीर्थहरू जस्तै:- भृगु तीर्थ, क्षेत्रपाल, ललाट, ब्रह्म शिला आदि तीर्थहरूको दर्शन तथा पूजा गरिन्छ। त्यसै स्थानको नजीकमा रहेका गंगा र यमुना भनिने नदीमा स्नान गरेर देह शुद्ध गरिन्छ। देहसुद्धीपछी अग्निपूजा तथा हवन गरेर वैश्वानर ज्वालाको दर्शन गरिन्छ। त्यसपछी शिरस्थानमा गएर रुद्रावती र पद्मावती नदीको वीचमा रहेको प्रेतशिलामा पृतिहरूको लागि पिण्डदान गरेर शिरस्थान स्थित वैश्वानर ज्वालाको दर्शन गरिन्छ। त्यसपछी त्यहाँ रहेका सम्पूर्ण तीर्थहरू जस्तै:- ललाट तीर्थ, नासिका तीर्थ, चक्षु तीर्थ कर्ण तीर्थ र शिखा तीर्थको दर्शन गरिन्छ। त्यहाँ नजिकै रहेको गंधमादन पर्वतमा मालिका मन्दिरको दर्शन गरेर मालती नदीमा स्नान र जलपान गरिन्छ। त्यसपछी सिद्धगंगा नदीमा स्नान गरेर कोटिलास्थानमा जानु पर्छ। त्यहाँ गएर कोटेश्वर महादेवको दर्शन गरेर तल्लो डुङ्गेश्वर स्थित सिद्धेश्वर महादेवको दर्शन पूजापाठ गरिन्छ। त्यस पछी स्वामी कार्तिकको दर्शन, पादुकास्थानको दर्शन गरेर धुलेश्वमा गएर हरिशंकरी यात्राको विसर्जन गरिन्छ।[७]

पञ्कोशी यात्राको वैद्विक नियम[सम्पादन गर्ने]

पञ्चकोशी क्षेत्रको दुल्लु अवस्थित परम पावन वैश्वानर धाम मध्यको धुलेश्वरलाई केन्द्र मानेर पूर्वमा ५ कोष, पश्चिममा ५ कोष, उत्तरमा ५ कोष र दक्षिणमा ५ कोष गरेर जम्मा २० कोषको क्षेत्र नै पञ्चकोशी क्षेत्र हो। यस तीर्थको यात्रा गर्ने वैद्विक नियम रहेको छ। पुण्य प्राप्ति र पाप निवारणका लागि ५ दिने यात्रा गरिन्छ । देव प्रतिष्ठा, देव दर्शन र दिव्य शक्ति प्राप्तका लागि ९ वा ११ दिने यात्रा गरिन्छ। असाध्य शारीरिक र मानसिक रोग निवारण र ज्ञान वा मोक्ष प्राप्तीको लागि १५ दिने यात्रा गर्नु पर्छ। कुल वंशको सुधार र पितृ उद्धारका लागि २१ या २५ दिने यात्रा गर्नु पर्छ भने जगत कल्याण, राष्ट्र कल्याण र आत्म कल्याणका लागि ३१ दिने यात्रा गर्ने विधान रहेको छ।[४]

५ दिने यात्रा
पाप निवारण तथा पुण्य प्राप्तिका लागि गरिन ५ दिने पञ्चकोशी यात्रा डुङ्गेश्वरमा रहेको सिद्धेश्वर धामबाट प्रारम्भ हुन्छ। पहिलो दिन सिद्धेश्वर धाममा नै वास बसेर क्षौर, स्नान, गोदान आदि कर्म गरी एक भक्त रही दोश्रो दिनको यात्रा गर्ने संकल्पका साथ त्रिवेणीमा स्नान गर्नु पर्दछ । स्नानपछि अग्निस्थापनाको विधिले हवन गरि दुग्धेश्वर शिवलिङ्गमा गाईको दूधले अभिषेक गरी पूजा गर्ने र कम्तिमा एक ब्राह्मणलाई भोजन गराई महाकालको दर्शन र पूजा गरी स्वामी कार्तिकको तपस्थलि लामादुवाला पुग्नु पर्दछ । दोश्रो दिन कर्णाली र भैरवीको संगममा स्नान गरी स्वामी कार्तिकको दर्शन, पूजन, हवन र ब्राह्मण भोजन गरी प्राचीन योनीगुफा र गर्भगुफाको दर्शन गरेर भोजन गर्नु पर्दछ । त्यसै दिन साँझमा हरिहर क्षेत्र चरण पादुकामा दर्शन पूजन गरी भैरवीमा स्नान पूर्वक हंश ज्वालाको दर्शन, हवन, एवं ब्राह्मण भोजनादी कार्य गरी रात्रीमा वास बस्न वशुधारा निकट भैरवीकुण्ड पुग्नु पर्दछ । [४] तेस्रो दिन यात्राको आरम्भमा भैरवी कुण्डमा स्नान गरेर शिव पार्वतीको पूजा र ब्राह्मण भोजन गराई शिखर मालिकाको दर्शन गर्दै वाणगंगा, ब्रह्मकुण्ड, विष्णुकुण्ड र रुद्रकुण्डको जल अभिषेक गरी धुलेश्वर धाममा पुगेर रात्री विश्राम गर्नु पर्दछ। चौथो दिनमा ब्रह्मकुण्डमा स्नान गरेर धुलेश्वरमा पूजन, हवन, अभिषेक, ब्राह्मण भोजन र यथाशक्ति सुवर्ण दान गरेर भोजन गर्नु पर्दछ। भोजनपछि शिवलिङ्गी, उर्धमुखी गंगा, दुर्लभ गुफा, श्वेतरण्य पर्वत, सति पिपल, ऋण मोचनी, पाप मोचनी आदिको दर्शन गर्दै नाभिस्थानमा पुगेर वास बस्नु पर्दछ । पाँचौ दिनमा रसायन कुण्डमा स्नान र रसायन पान गरी ईन्द्र ज्वाला र नाभिज्वालाको दर्शन पूजन र तील होम, ब्राह्मण भोजन गराई भृगुतुङ्ग आदि केदार क्षेत्रको दर्शन गर्दै शिरस्थानमा रहेका कालाग्नी, रुद्र चक्षु ज्वाला, नासाज्वाला र बढीज्वालाको दर्शन, पूजन, सूवर्णदान र ब्राह्मण भोजन पश्चात ललाट ज्वाला र दक्षिण ज्वालाको दर्शन पूजन गरी कोटिलास्थानको कोटेश्वरमा पुगी त्यसै दिन ध्वजा रोपन, हवन अभिषेक र दान गरि यात्रा सम्पन्न गर्नु पर्दछ ।[४]
९ वा ११ दिने यात्रा
यस्तै प्रकारले देव प्रतिष्ठाका लागि गरिने दोश्रो ९ वा ११ दिने पञ्चकोशी यात्राको विधान पनि रहेको छ । यो यात्रामा वाणगंगामा स्नान गरेर धुलेश्वर धाममा वास बसेर आरम्भ गर्नु पर्दछ। [४] पछिल्लो दिन प्रातः ब्रह्मकुण्डमा स्नान गरी शिव पूजन, हवन, रुद्राभिषेक र ब्राह्मण भोजन गरी भैरवीमा पुग्नु पर्दछ । दोश्रो दिन भैरवी कुण्ड बशुधारामा स्नान शिव गौरी पूजन, हवन, भोजन दान गरी शैल मालिकाको दर्शन पूजन गर्दै शिवलिङ्गीमा आएर सिद्धासनको दर्शन गरेर त्यहीं वास बस्नु पर्दछ। तेस्रो दिन पाताल गंगामा स्नान गरी क्षेत्रपालको दर्शन पूजन गर्दै कोइरालागाउँको शिरानमा पर्ने गल्ला पानी भन्ने स्थानमा अवस्थित क्षिरगंगामा स्नान गरी शिव पूजन र भोजनको कार्य गर्ने र त्यस पछि ब्रह्मकुण्ड, सती पिपल, श्वेतरेण्य पर्वत, ऋणमोक्ष पाप मोचनी, रसायन कुण्ड इन्द्र ज्वालाको दर्शन गरी नाभिस्थानमा वास बस्नु पर्दछ। चौथो दिन नाभिस्थानको रुद्र गंगामा स्नान र रसायन कुण्डमा मार्जन गरी प्रथम इन्द्र ज्वालाको पूजन गरी नाभिज्वालाको दर्शन पूजन र घृत तील हवन गरेर प्रेत शिला र मोक्ष शिलाको पूजा पछि गणेशको पूजा र दर्शन गर्ने परम्परा रहेको छ । यहाँ ब्राह्मण भोजन, सुवर्ण दान र भण्डाराको ठुलो महिमा रहेको छ। यि कार्य सम्पन्न गरेपछि आफुले भोजन गरेर भृगुतुङ्ग र आदि केदारको दर्शन गर्नु पर्दछ । त्यो दिन नाभिस्थानमा नै वास बस्नु पर्ने विधान रहेको छ । पाँचौ दिनमा रसायन कुण्डमा स्नान र विधिपूर्वक रसायन पान गरी पुनः ज्वालाजीको दर्शन पूजन र तिलको हवन गरेर त्यहाँबाट दक्षिण तर्फ रहेको रुद्रावती नदीको किनारामा अवस्थित शिवकुण्ड, ब्रह्मकुण्ड, अग्निकुण्डको दर्शन गर्दै शिरस्थानमा कालाग्नी, रुद्र ज्वाला र नासा ज्वालाको दर्शन गरी त्यहीं वास बस्नु पर्ने विधान रहेको छ ।[४]छैटौं दिनमा रुद्रावती र पद्मावतीको संगममा स्नान गरी स्वर्णभूमी, मोक्षशिलाको दर्शन पूजन पश्चात शिर ज्वालाको दर्शन, पूजन, गाईको घिउ मिश्रित तीलको हवन गराउनुका साथै रुद्राभिषेक र सप्तसती चण्डी पाठ गराई ब्राह्मण भोजन गराउने। त्यसपछि त्यहाँका साधु सन्तलाई भण्डारा दिएर तीर्थयात्रीले भोजन गरेर रात्रीमा त्यहीं विश्राम गर्ने। सातौं दिनमा प्रातः त्रिवेणीमा स्नान गरेर कालाग्नी रुद्रमा जौ तिलको हवन गराई ललाट ज्वाला र चक्षु ज्वालाको दर्शन गर्ने विधि छ । त्यसपछि सिद्धाचललाई दाइने तर्फ पारी कोटिलास्थान (कोटेश्वर शिवालय)मा वास बस्न जानु पर्दछ। आठौं दिनमा प्रातः सिद्धगंगा र पद्मावतीको संगममा स्नान गरेर कोटेश्वरको अर्ध परिक्रमा गरी कोटिलिङ्गमा सेतो, रातो र पहेंलो ध्वजा अर्पण गर्नु पर्छ । त्यसपछि शिवलिङ्गलाई पञ्चामृतले स्नान गराएर पूजन तथा अभिषेक गर्ने र ब्राह्मणहरूलाई भोजन दक्षीणा, दान आदि सबै कार्यहरू पुरा गरी माधव पर्वतको दर्शन गर्ने। त्यस पछि मालती गंगालाई दाहिने पारेर पद्मावती र इन्द्रावतीको संगम (चुप्रा) गएर जलाभिषेक गरी टाढैबाट काल भैरवको दर्शन पूजन गर्नु पर्दछ । साँझमा दुग्धेश्वर (माथिल्लो डुङ्गेश्वर) मा वास बस्नु पर्दछ । [४] नवौं दिनमा पद्मावती र वरुणा नदीको संगममा स्नान गरी डुङ्गेश्वरको दर्शन, दान, पूजन, भोजनादी कार्य सकाएर सिद्धेश्वर धाम (तल्लो डुङ्गेश्वर) जानु पर्दछ। त्यहाँ सिद्धेश्वरको दर्शन र पूजन गरी त्यो दिन त्यहीं वास वस्नु पर्दछ। दशौं दिन प्रातः त्रिवेणीमा स्नान गरेर गर्भ गुफा दर्शन गरी चरण पादुका (पादुकास्थान)मा गएर वास बस्नु पर्दछ । एघारौं दिनमा हरिहरमा हंशज्वालाको दर्शन, ब्राह्मण भोजन, हवन आदि कार्य सकाएर धौम्याश्रम पुगी दर्शन पूजन र हवन गर्नु पर्दछ । त्यसपछि वालवीर हनुमान र नरसिंहको दर्शन पूजन पश्चात सिद्धाचल अगाडी धर्मगद्दीमा गई वास बस्नु पर्दछ । यस यात्रामा विकल्पका रुपमा शिवलिङ्गी र माथिल्लो डुङ्गेश्वरको वास नबसी नौ दिनमा नै यात्रा पुरा गर्न सकिन्छ।[४]
१५, २१ र ३१ दिने यात्रा
ठुलो मानसिक तथा शारिरिक रोग निवारण र ज्ञान अथवा मोक्ष प्राप्तिको लागि गरिने पञ्चकोशीको १५ दिवसिय यात्रा भैरवी गाउँपालिकामा पर्ने भैरवीबाट प्रारम्भ हुन्छ। अरु यात्रा विधान यथावत नै हुने भएकाले यसलाई संक्षिप्तमा उल्लेख गर्न सान्दर्भीक छ। यस यात्रामा मुख्य स्थानहरू उल्लेख गरिएका छन् । यहाँ उल्लेख भएका प्रत्यक स्थानमा एक रात वास बसेर यात्रा गर्ने विधान रहेको छ। ति स्थानहरू यस प्रकार रहेका छन् :-[४] भैरवी, शैलागम पर्वत, धुलेश्वर, नाभिस्थान, शिरस्थान, कोटिलास्थान, रुद्रवती, इन्द्रावती संगम, दुग्धेश्वर, सिद्धेश्वर, स्वामी कार्तिक, हरिहर क्षेत्र, धौम्याश्रम, माधव पर्वत, धुलेश्वर यो यात्रा १५ दिनमा पुरा हुन्छ। यस्तै प्रकारले पितृ सुधारको लागि गरिने २१ दिने पञ्चकोशी यात्राको विधान अनुसार धर्मगद्दीबाट यात्रा आरम्भ गरेर बारातडी, मालती गंगा, मालिका, धुलेश्वर, शिवलिङ्गी, भैरवी, क्षेत्रपाल भूमी (रावतकोट), ऋण मोचिनी, इन्द्रज्वाला, कालाग्नी रुद्र, बडी ज्वाला, लटाट ज्वाला, चक्षु ज्वाला, नासा ज्वाला, त्रिवेणी संगम (चुप्रा), डुङ्गेश्वर, स्वामी कार्तिक, चरण पादुका, धौम्यधाम, धुलेश्वर, धर्मगद्दी, सिद्धस्थलीको यात्रा गर्नु पर्दछ । यस यात्रामा ४८ वटा श्राद्ध भूमीहरू रहेका छन्। जसमा विधिवत पिण्डदान गर्नु पर्दछ। यस यात्रामा पुनः भैरवी पुगेर तीर्थभोज दिनु पर्दछ। देव पूजन हवन आदि गरी साङ्गता गर्ने परम्परा पनि रहेको छ। [४] आत्म कल्याण, राष्ट्र कल्याण अथवा सर्व कार्यसिद्धिको लागि गरिने ३१ दिने पञ्कोशी यात्रा धुलेश्वरबाट सुरु गरे धुलेश्वरमा नै समापन गर्नु पर्ने विधान रहेको छ। यस यात्रामा दैनिक हवन, पूजन, ब्राह्मण भोजन, पाठ, पारायण, वैश्वानर पुराण श्रवण गर्नु पर्दछ । यो यात्रा निकै कठिन यात्रा हो र विधान अनुसार यात्रा गरेमा मनोकांक्षा पुरा हुनुमा दुई मत छैन। यस यात्राको विधान यहाँ उल्लेख गर्न सम्भव नभएकाले यात्रा गर्न इच्छुक व्याक्तिले वैश्वानर पुराणको अध्यायनबाट स्वयं जानकारी लिन सकिने छ। साथै पञ्चकोशी यात्रा विधानको बारेमा जानकारी भएका यस पञ्चकोशी क्षेत्रका ब्राह्मणहरूबाट जानकारी लिन सकिने छ।[४]

तस्बीर सङ्ग्रह[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "चिनियाँ कम्पनीले दैलेखमा ग्यास उत्खनन गर्दै" (नेपालीमा), नेपाली पब्लिक, ०९ माघ २०७५। 
  2. "पर्यटक गन्तव्य : पंञ्चकोशी क्षेत्र" (नेपालीमा), कारोबार, २६ पौष २०७०। 
  3. ३.० ३.१ वैश्वानर पुराण
  4. ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ ४.१० "दुल्लु नगर प्रमुखको आँखामा दैलेखको पर्यटन विकास", Our tourism news, १६/१/२०१९। 
  5. ५.० ५.१ ५.२ ५.३ स्थानिय श्रुति
  6. वैश्वानर पुराण अध्याय ६ श्लोक ११- १२
  7. ७.० ७.१ ७.२ पूस्तक "कीर्तिखम्ब" पहिलो संस्करण पृष्ठ ११० लेखक विश्व के.सी. (पोखरेल)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]