कुण्डलिनी

| एक शृङ्खलाको भाग |
| हिन्दु दर्शन |
|---|
हिन्दु धर्ममा, कुण्डलिनी ⓘ) दिव्य स्त्री ऊर्जा (वा शक्ति) को एक रूप हो, जुन मेरुदण्डको फेदमा रहेको मूलाधार मा अवस्थित हुन्छ भन्ने विश्वास गरिन्छ। यो शैव तन्त्रको एक महत्त्वपूर्ण अवधारणा हो, जहाँ यसलाई दिव्य स्त्री वा देवीको निराकार पक्षसँग जोडिएको बल वा शक्तिको रूपमा मानिन्छ। सूक्ष्म शरीरमा रहेको यो ऊर्जालाई जब तान्त्रिक अभ्यासद्वारा जागृत गरिन्छ, तब यसले आध्यात्मिक मुक्तितर्फ लैजान्छ भन्ने विश्वास गरिन्छ। कुण्डलिनीलाई देवी पार्वती वा आदि पराशक्ति (शाक्त सम्प्रदायका सर्वोच्च सत्ता) र देवी भैरवी एवम् कुब्जिकासँग पनि जोडेर हेरिन्छ।[१] यो शब्द र यससँग सम्बन्धित अभ्यासहरूलाई ९औँ शताब्दीमा हठयोगमा समावेश गरिएको थियो। त्यसयता यसलाई हिन्दु धर्मका अन्य रूपहरूका साथै आधुनिक अध्यात्म र 'नयाँ युग' विचारधाराहरूमा पनि अपनाइएको छ।
कुण्डलिनी जागरण विभिन्न विधिहरूबाट हुन सक्छ भनिन्छ। योगका धेरै प्रणालीहरूले ध्यान, प्राणायाम, आसनको अभ्यास र मन्त्र उच्चारण मार्फत कुण्डलिनी जागृत गर्नमा ध्यान केन्द्रित गर्छन्।[२]
व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]कुण्डलिनीको अवधारणा उपनिषद्हरू (ईसापूर्व ९औँ – ७औँ शताब्दी) मा उल्लेख गरिएको छ।[३] संस्कृत विशेषण कुण्डलिन्को अर्थ "वृत्ताकार वा गोलाकार" हुन्छ। १२औँ शताब्दीको राजतरङ्गिणी इतिवृत्तमा यसलाई "सर्प" (कुण्डली बनाएर बसेको अर्थमा) नामपदको रूपमा उल्लेख गरिएको छ। कुण्ड शब्द (कचौरा वा पानीको घैँटो अर्थ लाग्ने नामपद) महाभारत (१.४८२८) मा एक नाग (सर्प देवता)को नामको रूपमा पाइन्छ। ८औँ शताब्दीको तन्त्रसद्भाव तन्त्र मा कुण्डली शब्द प्रयोग गरिएको छ।[४]
देवी दुर्गा (शक्तिको एक रूप) को नामको रूपमा कुण्डली शब्दको प्रयोग ११औँ शताब्दीको सुरुवाती समयको 'शारदातिलक' देखि नै तन्त्रवाद र शाक्त धर्ममा प्राय: देखा पर्दछ।[५] १५औँ शताब्दीमा यसलाई हठयोगमा एक प्राविधिक शब्दको रूपमा अपनाइयो र १६औँ शताब्दीसम्म आइपुग्दा यो योग उपनिषद्हरूमा व्यापक रूपमा प्रयोग हुन थालेको थियो। एकनाथ ईश्वरनले यस शब्दलाई "कुण्डलीकृत शक्ति" भनी व्याख्या गरेका छन्, जुन सामान्यतया मेरुदण्डको फेदमा रहन्छ र त्यहाँ "सर्प जस्तै कुण्डली बनाएर बसेको" भनी वर्णन गरिएको छ।[६]
शैव धर्ममा
[सम्पादन गर्नुहोस्]
कुण्डलिनी शैव तन्त्रको एक केन्द्रीय अवधारणाको विशेष गरी कौल जस्ता शाक्त सम्प्रदायहरूमा रूपमा देखा परेको। यी तान्त्रिक परम्पराहरूमा कुण्डलिनीलाई "शरीरधारी चेतनाको जन्मजात बुद्धि" भनिन्छ।[७] यस शब्दको सम्भावित पहिलो उल्लेख आठौँ शताब्दीको तन्त्रसद्भाव तन्त्र मा पाइन्छ, तर अन्य पुराना तन्त्रहरूमा पनि केन्द्रीय नाडीमा शक्तिको परिकल्पना र प्राण वा जीवनशक्तिको ऊर्ध्वगामी गतिको उल्लेख गरिएको छ (जसलाई पछिल्ला कृतिहरूमा अक्सर कुण्डलिनीसँग जोडिएको छ)।[८] डेभिड गोर्डन ह्वाइटका अनुसार, यो स्त्री आध्यात्मिक शक्तिलाई भोगवती पनि भनिन्छ, जसको "भोग" र "कुण्डलीकृत" गरी दुईवटा अर्थ लाग्छ। यसले आनन्द र प्रसन्नतासँगको उनको बलियो सम्बन्धलाई सङ्केत गर्दछ, जसमा सांसारिक भौतिक सुख र आध्यात्मिक मुक्तिको परमानन्द दुवै समावेश छन्। यो शिवको रचनात्मक गतिविधिको आनन्द र देवीसँगको अन्तिम मिलन हो।[९]
वैष्णव धर्ममा
[सम्पादन गर्नुहोस्]धेरैजसो शैव र शाक्त परम्पराहरूसँग जोडिएको भए तापनि, कुण्डलिनी शक्तिको अवधारणा वैष्णव धर्मका लागि पनि नौलो होइन। एक लोकप्रिय वैष्णव ग्रन्थ नारद पञ्चरात्र मा चक्र र कुण्डलिनी शक्तिको विस्तृत विवरण दिइएको छ, यद्यपि यो शैव र शाक्त धर्मको तुलनामा केही भिन्न छ। [१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Frawley, David (फेब्रुअरी २००९), Inner Tantric Yoga: Working with the Universal Shakti: Secrets of Mantras, Deities and Meditation, Lotus Press, पृ: 163–164, आइएसबिएन 978-0-940676-50-3।
- ↑ "Spotlight on Kundalini Yoga", Yoga Journal, अन्तिम पहुँच ८ अक्टोबर २०१३।
- ↑ Dale, Cyndi (२०११), Kundalini: Divine Energy, Divine Life (1st संस्करण), Woodbury, Minnesota: Llewellyn Publications, आइएसबिएन 978-0-7387-2863-6।
- ↑ White, David Gordon (२००४), Kiss of the Yogini: "Tantric Sex" in its South Asian Contexts (Paperback संस्करण), The University of Chicago Press, पृ: २३०, आइएसबिएन 978-0-226-89483-6।
- ↑ Saivism, Kashmir Saivism (१९९०), Vac: The Concept of the Word in Selected Hindu Tantras, Sri Satguru Publications, पृ: 124–136, आइएसबिएन 978-1-4384-1532-1।
- ↑ Morrison, Diana (१९७७), A Glossary of Sanskrit from the Spiritual Tradition of India, Nilgiri Press, पृ: ५, आइएसबिएन 978-0-915132-11-9।
- ↑ Wallis, Christopher, Recognition Sutras: Illuminating a 1,000-Year-Old Spiritual Masterpiece, Mattamayura Press, 6 Oct 2017, Introduction.
- ↑ Flood (1996), p. 99.
- ↑ White, David Gordon (१९९८), The Alchemical Body: Siddha Traditions in Medieval India, University of Chicago Press, पृ: 219–220।
- ↑ Dasa, Purnaprajna, सम्पादक (१८ जुन २०१३), Narada Pancaratra full in 2 parts: Srila Vyasadeva, 2: Third, Fourth, and Fifth Ratras, Internet Archive।