म्याग्दी जिल्ला
म्याग्दी जिल्ला | |
|---|---|
गण्डकी प्रदेशको नक्सामा म्याग्दी जिल्लाको अवस्थिति | |
| देश | |
| प्रदेश | गण्डकी प्रदेश |
| स्थापना | वि.सं २०१८ |
| सदरमुकाम | बेनी |
| सरकार | |
| • प्रकार | जिल्ला समन्वय समिति |
| • अङ्ग | जिसस, म्याग्दी |
| क्षेत्रफल | |
| • जम्मा | २,२९७ किमी२ (८८७ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | १०७,०३३ |
| • घनत्व | ४७/किमी२ (१२०/वर्ग माइल) |
| • धरधुरीहरू | ३६,१३७ |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
| टेलिफोन कोड | ०६९ |
| मुख्य भाषा(हरू) | |
| वेबसाइट | आधिकारिक वेबसाइट |
म्याग्दी नेपालको गण्डकी प्रदेश साविक धवलागिरी अञ्चलको मध्यपहाडमा अवस्थित जिल्ला हो। पूर्वमा कास्की र पर्वत जिल्ला, पश्चिममा बागलुङ, डोल्पा र रुकुम जिल्ला, उत्तरमा मुस्ताङ र डोल्पा जिल्ला तथा दक्षिणमा बागलुङ जिल्लाले घेरिएको म्याग्दी जिल्ला ८३º०८" देखि ८३º५३" पूर्वि देशान्तर र २८º२०" देखि २८º४७" उत्तरी अक्षांस अन्तर्गत रहेको भू-भाग म्याग्दी जिल्ला अन्तर्गत पर्दछ। यस जिल्लाको कुल क्षेत्रफल २,२९७ वर्ग किलोमिटर (२,२९,७०६ हे.) रहेको छ। जिल्लाको वर्तमान सिमाना २०३१ सालमा पर्वत र मुस्ताङबाट २० गाविसहरू (गाउँ पञ्चायत) यस जिल्लामा गाभिन आएपछि कायम हुन आएको हो। हाल यो एक नगरपालिका सहित ६ स्थानिय तह छन । २०१८ सालको सीमा विभाजन अनुसार गण्डकी नदी पारिका इलाकाहरू क्रमशः मुस्ताङ र पर्वत जिल्लामा रहेका थिए। तत्कालीन म्याग्दी जिल्लामा २१ गाविस (गाउँ पञ्चायत) मात्रै रहेका थिए।
जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]
प्रशिद्ध हिमशिखर, नदीनाला, र धार्मिक स्थलको नामबाट अञ्चल तथा जिल्लाका नामाकरण गर्ने प्रचलनमा धौलागिरी हिमालबाट उत्पत्ति भई जिल्लाको पश्चिम उत्तरबाट दक्षिण पूर्व बग्ने म्याग्दी नदीको नामबाट यस जिल्लाको नामाकरण भएको हो। झण्डै पुरै जिल्लाभरी फैलिएको यस नदीको नाम म्याग्दी रहनमा विभिन्न भनाईहरू रहेको पाइन्छ जुन निम्न लिखित छन :-
- दुर्गा सप्तसतिमा बर्णित "जयन्ति मङ्गलाकाली भद्रकाली कपालिनी" भन्ने पद्यांशको देवी भगवतीको सय नाम मध्ये एक "मङ्गला" नामबाट नै नदिको नाम रहेको र कालन्तरमा अपभ्रंश भई म्याग्दी रहन गएको हो।
- नदीको पुरानो नाम "माया नदी" रहेको र यसको अपभ्रंश हुन गई म्याङ्गदी हुँदै म्याग्दी भएको हो।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा १ नगरपालिका र ५ गाउँपालिकाहरू गरि ६ वटा स्थानीय तहहरू रहेका छन्।[१]
| क्रम | स्थानीय तहहरू | समावेश गाविसहरू | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या (वि.सं २०७८) | क्षेत्रफल (वर्ग किमी) | जनघनत्व (वर्ग किमी) |
|---|---|---|---|---|---|---|---|
| १ | बेनी नगरपालिका | अर्थुङ्गे, घतान, सिङ्गा, पुलाचौर, रत्नेचौर, ज्यामरुककोट, भकिम्ली र पात्लेखेत | १० | बेनी बजार | ३२,६९७ | ७६.५७ | ४३० |
| २ | अन्नपूर्ण गाउँपालिका | नारच्याङ, दाना, शिख, घार, दोवा, हिस्थान मण्डली, राम्चे र भुरुङ तातोपानी | ८ | पोखरेबगर | १२,३२३ | ५५६.४१ | २२ |
| ३ | धवलागिरी गाउँपालिका | ताकम, मुना, मुदी, गुर्जा खानी, मल्कवाङ, मराङ र लुलाङ | ७ | घट्टेखोला | १२,६१६ | ५५६.४१ | २३ |
| ४ | मङ्गला गाउँपालिका | बरञ्जा, बाबियाचौर, अर्मन, कुहुँकोट र दरबाङ (४) | ५ | बाबियाचौर | १४,६८८ | ८९ | १७० |
| ५ | मालिका गाउँपालिका | दरबाङ (१-३, ५-९), निस्कोट, ओखरबोट, रूम, विम र देवीस्थान | ७ | दरबाङ | १८,३३२ | १४७ | १२० |
| ६ | रघुगङ्गा गाउँपालिका | बेगखोला, राखुभगवती, राखुपिप्ले, दग्नाम, झीँ, पाखापानी, चिमखोला र कुइनेमङ्गले | ८ | पाखापानी | १५,७५३ | ३४९ | ४५ |

भौगोलिक अवस्था
[सम्पादन गर्नुहोस्]- अक्षांश:- २८ डिग्री २०" देखि २८ डिग्री ४७" उत्तर
- देशान्तर:- ८३ डिग्री ८" देखि ८३ डिग्री ५३" पूर्व
- सिमाना:- पूर्व- कास्की र पर्वत, पश्चिम-बागलुङ, डोल्पा र रुकुम, उत्तर-मुस्ताङ र डोल्पा तथा दक्षिण-बागलुङ
- क्षेत्रफल:- २२९७.०६ वर्ग किलोमिटर
- औसत लम्बाइ:- ६३ किलोमिटर उत्तर– दक्षिण
- औसत चौडाइ:- ३६.५ किलोमिटर पूर्व– पश्चिम
- भौगोलिक अवस्था:- पहाडी प्रदेश
- सबभन्दा अग्लो स्थान:-८१६७ मिटर
- सबभन्दा होचो स्थान:- ८१२ मिटर
- सदरमुकाम:- बेनी
जिल्लाको इतिहास
[सम्पादन गर्नुहोस्]ऐतिहासिक रूपमा रहेको तत्कालिन पर्वत राज्य वर्तमान म्याग्दी डोल्पा बागलुङ पर्वतका साथै मुस्ताङ सम्म फैलिएको थियो। पौराणिक दृष्टिकोणबाट हेर्दा ऋषि जडभरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको स्थान "जड" जडभरत गुफाको नामले हाल म्याग्दीको गलेश्वरमा पर्दछ र वर्तमानको "राखु" नै राजा रहुगणको राजधानी रहेको अनुमान गरिन्छ। यसैगरी प्रशिद्ध ऋषि पुलत्यसको आश्रम "पुला" हालको पुलाचौरमा रहेको र निजका नाति विश्वका छोरा लंकाका प्रतापि राजा रावणको जन्म भुमि यहि क्षेत्र रहेको अनुमान गरिन्छ।

श्रीशाके ११११ बिक्रम सम्बत १२४६ तिर प्रथम थापा राजा कालु थापा क्षत्रीले ताकम राज्यको स्थापना गरेका थिए। उनी बगाले कुलका आत्रेय गोत्रका खस क्षत्रिय राजा थिए ।[२] चार हजार पर्वत भनि मानिएको यो राज्यमा थापाहरूले ३०० वर्ष सम्म शासन गरेका थिए । पुलाचौरमा जेठा पूर्णखर (पुन्याकर) थापा, ताकममा माहिँला तारापति थापा, रुकुमकोटका साहिँला विरु थापा र ज्यामरुककोटमा कान्छा जशोधर (धर्मराज) थापाले राज्य गरेका थिए । बगाले थापा वंशावलीको कथन:
वि. सं १५४५ मा कर्णाली प्रदेशका मल्ल राजा आनन्द बम मल्लका नाति डिम्ब बम मल्लले थापाहरूलाई हराई ताकम राज्यलाई आफनो राज्यमा गाभी बर्तमान धौलागिरी अञ्चलका सवै जिल्लाहरू समेटिएको तत्कालिन विशाल पर्वत राज्यको स्थापना गरेका थिए र वर्तमान म्याग्दी जिल्ला उक्त पर्वत राज्यको एक भागको रूपमा रहन पुग्यो। इतिहासकारहरूले पर्वतमा मल्ल राजाका चौध पुस्ताले शासन गरेको बताए पनि अन्तिम मल्ल राज्य कीर्तिबम मल्लले पुलामी बानियाँहरूको नाममा बिसं १८३६मा गरिदिएको ताम्रपत्रमा राजा-९ स्पष्ट रूपमा अङ्कित भएको हुँदा मल्ल बंशका ९ वटा राजाले मात्र तत्कालिन पर्वत राज्य समालेको देखिन्छ। साथै राजा कीर्ति बम मल्लले बर्तमान म्याग्दीमा पर्ने ढोलठानामा दरबार खडा गरी बसेको र बेनिमा ठाना राखेको थिए भनिन्छ।
रणबहादुर शाहको राज्य कालमा बहादुर शाहले पाल्पाली राजाको सहयोगमा सैनिकको घेरामा पारी पर्वतका राजालाई आत्मसमर्पण गर्न लगाई शक्तिशाली पर्वत राज्यलाई नेपालमा गाभेका थिए। एकीकरण पछि र राणा शासनकालमा यो जिल्ला पाल्पा प्रशासन अन्तर्गत रहेको थियो। बिसं १९८५मा बागलुङ जिल्लामा छोटि गौडा स्थापना भएपछि प्रशासनिक तथा न्यायिक काम त्यसैबाट हुदै आएकोमा बिसं २०१८ सालको जिल्ला विभाजनबाट म्याग्दी जिल्लाको नाममा अलग अस्तित्व कायम गरियो।
बिसं २०१५ सालको महानिर्वाचनमा ७ नम्बर क्षेत्रमा रहेको यो जिल्ला बिसं २०१८मा २१ वटा गाँऊ पञ्चायत सहित म्याग्दी जिल्लाको रूपमा स्थापित हुन पुग्यो। बिसं २०३२ सालमा पर्वत र मुस्ताङ जिल्लाबाट २० वटा गाउँ पञ्चायतहरू गाभिन आए पछि यस जिल्लालाई ४० गाउँ विकास समिति र ९ इलाकामा विभाजन गरिएको थियो। बिसं २०४८ सालपछि यो जिल्ला ४० गाविस ११ इलाका र २ वटा निर्वाचन क्षेत्रमा विभाजन हुन पुग्यो। तर बिसं २०४८को जनगणनालाई आधार मानी बिसं २०५१ सालमा यो जिल्लालाई एउटा मात्र निर्वाचन क्षेत्रमा कायम गरियो।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।
- ↑ नरहरिनाथ १९५५.