हयग्रीव
| हयग्रीव | |
|---|---|
ज्ञानका देवता[१] | |
हयग्रीवको चित्र, नटराज मन्दिर, चिदम्बरम | |
| अन्य नामहरू | हयशीर्ष |
| आबद्ध | वैष्णव सम्प्रदाय |
| वासस्थान | वैकुण्ठ |
| मन्त्र | ज्ञानानन्दमयं देवं निर्मल स्फटिकाकृतिम् / आधारं सर्वविद्यानां हयग्रीवं उपास्महे // |
| अस्त्र | सुदर्शन चक्र, पाञ्चजन्य |
| रानी | लक्ष्मी |
हयग्रीव एक हिन्दु देवता र भगवान विष्णुका अश्व-शिर अवतार हुन्। यस अवतारको मुख्य उद्देश्य हयग्रीव नामक एक दानव (कश्यप र दनुका वंशज) को वध गर्नु थियो, जसको टाउको घोडाको र शरीर मानिसको थियो।[२]
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]पौराणिक कथा अनुसार, सृष्टिको समयमा मधु र कैटभ नामक दुई दानवहरूले ब्रह्माबाट वेदहरू चोरी गरेका थिए र ती वेदहरू पुन: प्राप्त गर्न भगवान विष्णुले हयग्रीवको रूप धारण गरेका थिए। अर्को एउटा कथा अनुसार, सृष्टिको समयमा विष्णुले हयग्रीव स्वरूपमा नै वेदहरूको सङ्कलन गरेका थिए।
भागवत पुराणको १०औँ स्कन्ध, ४०औँ अध्यायमा हयग्रीवलाई विष्णुका अवतारहरूको सूचीमा राखिएको छ। उक्त ग्रन्थमा, अक्रूरले यमुनामा स्नान गर्ने क्रममा दर्शन पाउँदा गरेको प्रार्थनामा हयग्रीवको नाम उल्लेख गरिएको छ।[३]
उपासना
[सम्पादन गर्नुहोस्]हयग्रीवको उपासनाको उत्पत्तिका बारेमा अनुसन्धानहरू भएका छन्, जसका केही प्रारम्भिक प्रमाणहरू सन् १०० ईसा पूर्वका भेटिन्छन्,[४] जुन समयमा मानिसहरूले घोडाको गति, शक्ति र बुद्धिमत्ताका लागि यसको पूजा गर्थे।[५] वैखानस, श्री वैष्णव र द्वैत वेदान्त परम्पराहरूमा हयग्रीव एक प्रमुख देवता हुन्। धार्मिक वा सांसारिक कुनै पनि विषयको अध्ययन सुरु गर्दा उनको आशीर्वाद लिने गरिन्छ। पूर्णिमा (श्रावण शुक्ल पूर्णिमा—उहाँको अवतार भएको दिन) र नारात्रि पर्वको नवौँ दिन महानवमीका अवसरमा उनको विशेष पूजा गरिन्छ।
अन्य संस्कृतिहरूमा प्रभाव
[सम्पादन गर्नुहोस्]सन् २०१५ को वृत्तचित्र शृङ्खला, द क्रिचर्स अफ फिलिपिन्स मिथोलोजी मा दक्षिणपूर्वी एसियामा हिन्दु धर्मको विस्तार र हयग्रीवको चित्रणको खोजी गरिएको छ। हयग्रीवको स्वरूपले नै फिलिपिन्सको पौराणिक कथामा रहेको घोडाको टाउको भएको आत्मा, तिकबालाङको वर्तमान स्वरूपलाई प्रभावित गरेको अनुमान गरिएको छ।[६]
मङ्गोलियामा फेला परेको 'नियोर्निथिसियन' डाइनोसरको एक विलुप्त वंशको नाम हयग्रीव राखिएको छ। यो नाम उक्त डाइनोसरको घोडाको जस्तो लामो खप्पर र मङ्गोलियाको बौद्ध कलामा देखिने हयग्रीव देवताको स्वरूपसँग सम्बन्धित छ।[७]
हयग्रीव दानव
[सम्पादन गर्नुहोस्]हयग्रीव दानव कश्यप र दनुका पुत्र थिए। उनी दानवहरूका प्रथम शासक बनेका थिए। हिन्दु धर्मग्रन्थहरूका अनुसार, जब विष्णुले वेदहरूको सिर्जना गरी ब्रह्मालाई सुम्पिन्छन्, शिवले मनु र उनकी पत्नी बाहेकका सबै मानवता भ्रष्ट भएको भन्दै उनीहरूलाई विनाश गर्ने निर्णय गर्छन्। जब हयग्रीवले मानव जाति दानवहरू भन्दा महान् हुनेछन् भन्ने कुरा थाहा पाउँछन्, उनले मानिसहरूलाई वेद प्राप्त गर्नबाट रोक्ने योजना बनाउँछन्। ब्रह्मा अनुपस्थित भएको समयमा हयग्रीव सत्यलोक पुग्दै वेदहरू (जो ४ बालकको स्वरूपमा थिए) को ध्यान खिच्न घोडाको रूप धारण गर्छन्। उनले वेदहरूलाई ब्रह्माले किन उनीहरूलाई मानव जातिसम्म पुर्याउनुको सट्टा आफ्नै लोकमा राखेका छन् भनी सोध्छन्। उनीहरूको कुरा सुनेपछि हयग्रीवले हाँस्दै ब्रह्माको नियतका बारेमा उनीहरूलाई झुक्याउँदै ब्रह्माले उनीहरूलाई आफ्नै लागि मात्र राख्न चाहेको बताउँछन्। त्यसपछि वेदहरूलाई ती दानवले कैद गर्छन्। लगत्तै, विष्णुले आफ्नो मत्स्य स्वरूप धारण गर्छन् र मनुलाई शिवले पठाउने महाजलप्रलयबाट कसरी बच्ने भन्ने निर्देशन दिन्छन्। त्यसपछि विष्णुले मत्स्य रूपमै हयग्रीवको वध गरि जलप्रलय सकिएपछि मनुलाई हस्तान्तरण गर्नका लागि वेदहरूलाई मुक्त गर्छन्।[८][९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Ninan, M. M. (२३ जुन २००८), The Development of Hinduism, Madathil Mammen Ninan, आइएसबिएन 9781438228204।
- ↑ "The Hare Krsnas - Battles of Vishnu Avatars - Ajnana / Hayagriva", www.harekrsna.com, अन्तिम पहुँच २०२१-११-१५।
- ↑ "Srimad Bhagavatam: Canto 10 - Chapter 40", bhagavata.org, अन्तिम पहुँच २०२१-११-१५।
- ↑ T. Volker (१९५०), The Animal in Far Eastern Art: And Especially in the Art of the Japanese Netzsuke, with References to Chinese Origins, Traditions, Legends, and Art, BRILL, पृ: १०२।
- ↑ Mārg̲, Volume 43, पृ: ७७।Originally from = University of Michigan
- ↑ Clark, Jordan "Tikbalang: The Horse Demon" Episode 01, Creatures Of Philippine Mythology (2015) https://www.youtube.com/watch?v=gRUSBSJ39KY
- ↑ Makovicky, Peter J.; Kilbourne, Brandon M.; Sadleir, Rudyard W.; Norell, Mark A. (९ मे २०११), "A new basal ornithopod (Dinosauria, Ornithischia) from the Late Cretaceous of Mongolia", Journal of Vertebrate Paleontology (अङ्ग्रेजीमा) 31 (3): 626–640, आइएसएसएन 0272-4634, डिओआई:10.1080/02724634.2011.557114, बिबकोड:2011JVPal..31..626M।
- ↑ corvusfugit (२०१७-०८-१३), "2.2 mya: Matsya and the Asura Hayagriva" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-१५।
- ↑ "Who was Hayagriva, why did he steal the four Vedas and how did Lord Vishnu eliminate him?", www.timesnownews.com (अङ्ग्रेजीमा), २१ मे २०२०, अन्तिम पहुँच २०२१-११-१५।